ओम र जर्मनको बैंकबीच साना उद्यमलाई ४० लाखसम्म ऋण दिने सम्झौता



काठमाडौं । पोखराको ओम डेभलपमेन्ट बैंकसँग जर्मनीको केएफडब्लु डेभलपमेन्ट बैंकले वित्ती सहकार्य गर्ने भएको छ । अर्थ मन्त्रालय र राष्ट्र बैंकको स्वीकृतीमा नेपालमा दिगो आर्थिक बिकास कार्यक्रमका लागि यो वित्तीय सहकार्य गर्न लागिएको बैंकका प्रमुख कार्यकारी अधिकृत बिश्व मोहन अधिकारी ले बताए ।

वित्तीय सहकार्यको यो सम्झौतापत्रमा अर्थ मन्त्रालयको तर्फबाट सह सचिव लाल बहादुर खत्री, नेपाल राष्ट्र बैंकको तर्फबाट कार्यकारी निर्देशक उपेन्द्र कुमार पौडेल, ओम डेभलपमेन्ट बैंकको तर्फबाट सीइओ अधिकारी र केएफडब्लुको तर्फबाट बैकका प्रतिनिधिले बुधबार हस्ताक्षर गरे ।

यो सम्झौता अन्तर्गत केएफडब्लुले ओम बैकलाई सम्झौतामा तोकिएको क्षेत्र अन्तर्गत साना तथा मझौला उद्यममा २ लाखदेखि ४० लाख सम्मको कर्जा लगानी गर्न १० बर्षको लागि पहिलो चरणमा ३ मिलियन युरो रकम उपलब्ध गराउने बताइएको छ ।

उक्त कार्यक्रमको लागि आवश्यक कर्मचारी तालिम, वृत्ति विकास, शाखा कार्यालय तथा लगानीको सम्भाब्यता अध्ययनका लागि थप १ मिलियन युरो रकम सहयोग गर्ने जनाइएको छ ।

जर्मनको सबैभन्दा ठुलो सरकारी डेभलपमेन्ट बैक केएफडब्लुले बिगत ३ बर्षदेखि बिभिन्न चरण अन्तर्गत ओम बैंकको स्थलगत निरिक्षण तथा बित्तीय बिवरणहरुको अध्ययन गरे पश्चात नेपालका बैंक तथा बित्तीय संस्थाहरु मध्ये पहिलो चरणमा ओमलाई सहकार्यको लागि छनौट गरेको अधिकारीले बताए ।


पुष्प दुलाल