कांग्रेसको घोषणापत्र अन्तिम चरणमाः आर्थिक समृद्धिका लागि लोकतान्त्रिक नेतृत्व



काठमाडौं । नेपाली कांग्रेसले आज आफ्नो घोषणापत्रलाई अन्तिम रुप दिने तयारी गरेको छ । सम्भवतः आज साँझसम्म घोषणापत्रले अन्तिम रुप पाउनेछ ।

आर्थिक समृद्धिको वाधक नबन्न वाम गठबन्धनलाई आग्रह गर्दै काँग्रेसले आर्थिक विकास र विस्तारका लागि लोकतान्त्रिक शक्ति नै प्रमुख रहेको उल्लेख गरेको छ ।

घोषणापत्रलाई अन्तिम रुप दिन नेता महेश आचार्यले विज्ञ तथा सरोकार भएकाहरुसँग छलफल गरेका छन् ।

नेपाली कांग्रेसको नेतृत्वको सरकारले २०४६ सालपछि सुरु गरेको आर्थिक समृद्धि र खुलापनले नै देशमा विकास भएको र त्यसलाई पूर्णता दिन सोही अवधारणालाई घोषणापत्रमा समावेश गर्ने तयारी गरिएको छ ।

कुनै पनि भडकाऊ तथा आग्रह पूर्वाग्रहका आधारमा मुलुक अगाडि बढ्न नसक्ने भन्दै त्यसका लागि लोकतान्त्रिक विचारसहितको नेतृत्व जरुरी रहेकोमा काँग्रेसले जोड दिएको छ ।

कांग्रेसले नेता बालकृष्ण खाँडको संयोजकत्वमा प्रचार समिति बनाएको छ । काँग्रेस नेताहरुकाअनुसार पार्टीको घोषणापत्रलाई आज साँझसम्म पूर्णता दिइने छ । पार्टी सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई एक पटक देखाएर घोषणापत्रलाई अन्तिम रुप दिइनेछ ।

शान्ति, संविधान र समृद्धिको नेतृत्व कांग्रेसले मात्रै गर्न सक्छ भन्ने विचारलाई घोषणापत्रको मूल केन्द्रबिन्दु बनाइएको छ । घोषणापत्रमा कुनै पनि हावादारी विषय समावेश गरिएको छैन, कांग्रेस नेताहरुले यर्थाथतामा आधारित विषयलाई नै काँग्रेसले समावेश गरेको छ ।

विज्ञहरुबाट प्राप्त सुझावलाई आत्मसाथ गर्दै कांग्रेसले घोषणापत्र तयार पारेको, अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन रुपमा रणनीतिक योजना समावेश गरिएको नेताहरुको भनाइ छ ।

आर्थिक समृद्धिको नेतृत्व कांग्रेसले मात्रै गर्न सक्छ भन्ने विषयलाई प्रमुख प्राथमिकतामा राखिएको उनीहरुले जनाएका छन् ।


पुष्प दुलाल