एनआइसीको स्वीफ्टबाट चोरेको पैसा फिर्ता हुने प्रक्रियामा




काठमाडौं । कात्तिक २ गते एनआइसी एशिया बैंकको स्वीफ्टबाट ह्याकरले चोरेको रकम फिर्ता हुने प्रक्रियामा पुगेको छ । बैंकको बिदेशी बैंक खातामा रहेको रकम ह्याकले अन्यत्र सार्न दिएको अर्डर क्यान्सिल गरी सम्बन्धित बिदेशी बैंकहरुले रोकेर एनआइसी एशिया बैंककै खातामा ल्याउन पहल थालेका छन् ।

एनआइसीको स्वीफ्ट सर्भर अनधिकृत प्रयोग गरी अन्यत्र सार्न दिइएको सबै अर्डर क्यान्सिल गरिएको जानकारी सम्बन्धित बैंकहरुले दिएको एनआइसी एशिया बैंक स्रोतले जानकारी दियो ।

‘सो दिन स्वीफ्ट मार्फत दिइएको अर्डर सबै क्यान्सिल गर्न सम्बन्धित बैंकहरुलाई हामी र राष्ट्र बैंकले आग्रह गरेका थियौं, सबै अर्डर क्यान्सिल गरिएको सम्बन्धित बैंकहरुले जानकारी दिएका छन्, रकमै फिर्ता हुन केही समय लाग्छ, तर फिर्ताको प्रक्रियामा रहेकोले अब चिन्ता गरिरहनु परेन,’ बैंक स्रोतले भन्यो ।

अरु रकम फिर्ताको प्रक्रियामा भएपनि करिब ३ करोड रुपैयाँ भने फिर्ता हुने नहुने अझै यकिन भएको छैन । सो रकमलाई शंकास्पदमा राखेर राष्ट्र बैंक मार्फत पनि फिर्ता गराउन पहल भइरहेको स्रोतको भनाइ छ ।


क्लिकमान्डु