पारित भयो नेपाल इन्भेष्टमेन्ट बैंकको ४० प्रतिशत लाभांस, ४ सञ्चालक निर्वाचित



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको सञ्चालक समितिले प्रस्ताब गरेको ४० प्रतिशत लाभांस पारित भएको छ । बैंकको मंगलबार सम्पन्न ३१औं वार्षिक साधारणसभाले १५ प्रतिशत बोनस सेयर र २५ प्रतिशत नगद लाभांस दिने सञ्चालक समितिको प्रस्ताब सर्वसहमतिले पारित गरेको हो ।

साधारणसभाले ४ जना सञ्चालक निर्वाचित गरेको छ । पृथ्वीबहादुर पाँडे, कबिकुमार टिवरेवाला, प्रजन्यराज भण्डारी, सूर्यप्रकाशलाल श्रेष्ठ निर्विरोध निर्वाचित भएका हुन् ।

बोनस सेयर पारित भएसँगै बैंकको चुक्ता पुँजी १० अर्ब ६२ करोड रुपैयाँ पुगेको छ । जुन नेपालका निजी क्षेत्रका प्रवद्र्धकहरुद्वा सञ्चालित बैंकहरुमध्ये सबैभन्दा धेरै हो ।

त्यसैगरी, बैंकको सञ्चित कोषमा पनि ८ अर्ब ८ करोड रुपैयाँ जम्मा भएको छ भने सेयरधनी कोषमा १८ अर्ब ७० करोड रुपैयाँ रहेको बैंकले जनाएको छ । यो बैंकको सेयरधनी कोष पनि निजी क्षेत्रका बैंकहरुमध्ये सबैभन्दा धेरै हो ।

गत आर्थिक वर्षमा बैंकले ५ अर्ब २४ करोड रुपैयाँ सञ्चालन नाफा कमाएको छ । जुन अघिल्लो वर्षको भन्दा २६.७ प्रतिशतले बढी हो । त्यसैगरी खुद नाफा पनि अघिल्लो वर्षकोभन्दा २२.१ प्रतिशतले बढाउँदै ३ अर्ब ११ करोड रुपैयाँ पुर्याएको छ ।

त्यसैगरी, गत वर्ष बैंकले १ खर्ब २५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकले प्रवाह गरेको कूल कर्जामध्ये खराब कर्जाको अनुपात ०.८३ प्रतिशत छ ।

बैंकले काठमाडौं उपत्यकाभित्र २३ र मोफसलमा ३८ गरी जम्मा ६१ शाखाबाट बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ । साथै, बैंकका ३ वटा एक्सटेन्सन काउन्टर र ९९ वटा एटीएम सञ्चालनमा छन् ।


पुष्प दुलाल