बैंकर्स संघमा ‘आइटी सेक्यूरेटी इन्फरमेसन डेस्क’ राख्न गभर्नरको निर्देशन



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपालले नेपाल बैंकर्स संघलाई सूचना प्रविधिमा देखिएका जोखिम सम्बन्धी सूचना आदान प्रदान गर्ने ‘आइटी सेक्यूरेटी इन्फरमेसन डेस्क’ राख्न निर्देशन दिएका छन् ।

सोमबार साढे ३ बजे बैंकर्स संघका अध्यक्ष अनिल शाहलाई बोलाएर गभर्नरले यस्तो निर्देशन दिएका हुन् । गभर्नरसँगको छलफलमा बैंकर्स संघका पूर्वअध्यक्ष समेत रहेका हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणा पनि सहभागी थिए ।

कतिपय बैंकहरुले सूचना प्रविधिका न्यूनतम मापदण्ड पनि पूरा नगरेकाले विभिन्न प्रकारका जोखिम उत्पन्न भएको भन्दै एक बैंकमा थ्रेट हुने वित्तिकै सबै बैंकलाई सूचना आदान प्रदान गरेर समस्याको समाधान गर्नेगरी अघि बढ्न गर्न निर्देशन दिएकोे राणाले जानकारी दिए ।

‘गभर्नरसाबले बैंकर्स संघमा ‘आइटी सेक्यूरेटी इन्फरमेसन डेस्क’ राख्न र यस्ता सूचनाहरु एकआपसमा आदान प्रदान गर्न निर्देशन दिनुभएको छ,’ सीइआ राणाले क्लिकमाण्डूसँग भने, ‘यसरी गठन भएको डेस्कमा राष्ट्र बैंकको आइटी डिपार्टमेन्टका अधिकाधरीहरुको सहभागिता हुने गभर्नरले बताउनु भयो ।’

एनआइसी एशिया बैंकको स्वीफ्टमार्फत करोडौं रकम विभिन्न ६ देशमा रहेको खातामा जम्मा गर्न अर्डर भएपछि अहिले बैंकिङ क्षेत्रमा आइटी रिस्कको बिषय हट केक बनेको छ ।

सबै बैंकका आइटी प्रमुखलाई गभर्नरले झपारे

गभर्नर डा. नेपालले मंगलबार दिउसो २ बजे राष्ट्र बैंकमा सबै बैंकका आइटी चिफलाई बोलाएर छलफल गरेका थिए । छलफलका क्रममा गभर्नरले बैंकहरुले आइटीको न्यूनतम मापदण्ड पूरा नगरेकाले विभिन्न घटनाहरु सार्वजानिक भएको भन्दै झपारेको छलफलमा सहभागीमध्ये एकले क्लिकमाण्डूलाई जानकारी दिए ।

गभर्नरले आइटीमा काम गर्ने कर्मचारीहरुलाई अत्यन्तै संवेदनशील हुन निर्देशन समेत दिए । आइटीलाई कसरी बलियो बनाउने भनेर महत्वपूर्ण छलफल भएको एक सहभागीले बताए ।

सबै बैंकका सीइओलाई बोलाउने तयारी

राष्ट्र बैंक स्रोतका अनुसार १/२ दिनमै सबै बैंकका सीइओहरुलाई बोलाएर आइटीमा ठूलो लगानी गर्न निर्देशन दिने भएका छन् ।

‘बैंक्हरु आइटीमा जति कम खर्च गर्यो उति पैसा जोगाएको जस्तो गर्छन्,’ स्रोतले भन्यो, ‘त्यसैले गभर्नरसाबले सबै सीइओलाई बोलाएर आइटीमा ठूलो लगानी गर्न निर्देशन दिँदै हुनुहुन्छ ।’


पुष्प दुलाल