एक करोड रुपैयाँ खर्चेर विद्यालय भवन पुनःनिर्माण



म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा रहेको मुक्तिमार्ग माविको कक्षा कोठा भवन पुनःनिर्माण गरिएको छ ।

एक करोड १५ लाख रुपैयाँको लागतमा आठ कोठे भवन पुनःनिर्माण गरिएको व्यवस्थापन समितिका अध्यक्ष गोकुल बरुवालले जानकारी दिए ।

दुई तले भूकम्प प्रतिरोधात्मक क्षमताको भवन अपांग मैत्रीसमेत छ । कक्षा १२ सम्मको पठनपाठन हुने विद्यालयमा हाल ३५८ जना विद्यार्थी अध्ययनरत छन् । नयाँ र सुविधा सम्पन्न भवन निर्माण भएपछि पठनपाठनमा सहज भएको छ ।

भवन निर्माणका लागि घारका टीकाबहादुर खड्का र उनका छोरा देवबहादुर खड्काले सोह्र लाख नौ हजार रुपैयाँ सहयोग गरेका छन् ।

खड्का परिवारले दोस्रो तलामाथि दुई कोठे ट्रस भवन बनाउन थप १५ लाख रुपैयाँ सहयोगको घोषणा गरेको व्यवस्थापन समितिका पूर्व अध्यक्ष रामबहादुर खड्काले बताए । उनीहरुले ११ लाख २४ हजार रुपैयाँमा तीन रोपनी जग्गा खरिद गरेर विद्यालयलाई उपलब्ध गराएका थिए ।

जिल्ला शिक्षा कार्यालयले भवन निर्माणका लागि ६० लाख रुपैयाँ उपलब्ध गराएको थियो ।

जग्गा खरिदसहित भवन निर्माणका लागि एक करोड १५ लाख रुपैयाँ खर्च भएको अध्यक्ष बरुवालले बताए ।  विद्यालयका पूर्व विद्यार्थी प्रशान्त मोहन रेग्मीको पहलमा जर्मनको हिमालयन फ्रेन्डसिभ संस्थाले १६ लाख ७७ हजार ५५० रुपैयाँ सहयोग गरेको छ । साविक घार गाविसले पाँच लाख रुपैयाँ, विद्यालयको महायज्ञ कोषबाट चार लाख र मोना बेल्जियमबाट ७५ हजार रुपैयाँ सहयोग गरेका छन् ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले गाउँको वन संरक्षणका लागि पर्खाल लगाउन उपलब्ध गराएको ४५ हजार रुपैयाँ स्थानीय बासिन्दाले श्रमदानबाट निर्माण गरेर रकम विद्यालयलाई सहयोग गरेका थिए । हाल जापानमा भएका दधीलाल खड्काले ५१ हजार रुपैयाँ र बेल्जियममा रहेका नारायण खड्काले ४५ हजार  रुपैयाँ सहयोग गरेका छन् ।

सरकारी निकायको अनुदान पर्याप्त नभएको अवस्थामा स्थानीयस्तरबाट थप आर्थिक स्रोत जुटाइ कक्षा कोठा निर्माण गर्न उदाहरणीय काम भएको वडाध्यक्ष कृष्णप्रसाद बरुवालले बताए ।


क्लिकमान्डु