दशैंमा बाहिरिएको पैसा बैंकमा फर्कियो, दशैंपछि थपियो १९ अर्ब



काठमाडौं । दशैंका लागि बैंकहरु बाट बाहिरिएको नोट फेरि बैंकिङ प्रणालीमा फर्किएको छ । पछिल्ला २ हप्तामै बैंकहरुमा १९ अर्ब रुपैयाँ निक्षेप थपिएको छ ।

सर्वसाधारणले दशैं मान्न बैंकबाट निकालेको पैसा दशैंपछि फेरि सिस्टममा फर्किएको हो । फुलपातिभन्दा १०÷१२ दिन अघि बैंकहरुमा २१ खर्ब ३० अर्ब रुपैयाँ कूल निक्षेप थियो । तर, फुलपातिको २ दिन अघि कूल निक्षेप घटेर २१ खर्ब २३ अर्ब रुपैयाँमा झरेका थियो ।

तर, पुर्णिमाको ३÷४ दिन पछि नै बैंकमा ह्वात्तै निक्षेप बढेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । दशैंपछिको पहिलो हप्ता नै बैंकमा १२ अर्ब रुपैयाँले बढेर बैंकहरुको कुल निक्षेप २१ खर्ब ३५ अर्ब रुपैयाँ पुगेको छ ।

त्यसपछिको हप्ता पनि उल्लेख्य मात्रामा निक्षेप बढेको छ । गत मंगलबारसम्ममा कुल निक्षेप २१ खर्ब ४२ अर्ब रुपैयाँ भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

निक्षेपसँगै बैंकहरुले कर्जा प्रवाह पनि बढाएका छन् । दशैंअघि १७ खर्ब ७४ अर्ब रुपैयाँ रहेको कर्जा गत मंगलबारसम्ममा १७ खर्ब ८७ अर्ब रुपैयाँ पुगेको छ । यो अवधिमा १९ अर्ब रुपैयाँले निक्षेप बढ्दा १३ अर्ब रुपैयाँले कर्जा बढेको देखिएको छ ।


पुष्प दुलाल