तिहार लागेसँगै विद्युत् माग बढ्यो, व्यवस्थापन गर्न प्राधिकरणलाई समस्या



काठमाडौं । तिहार लाग्दा नलाग्दै विद्युत्को माग ह्वात्तै बढेपछि विद्युत् व्यवस्थापनका लागि नेपाल विद्युत् प्राधिकरणलाई समस्या भएको छ ।

मंगलबार नेपालीको दोस्रो ठूलो चाड तिहार सूरु भएपछि विद्युत् माग बढेर १ हजार ४ सय मेगावाटको हाराहारीमा पुगेको छ ।

तिहार सुरु भएपछि एक्कासी विद्युत् माग बढेको छ, जता ततै झिलीमिली बत्ती बाल्न थालेको र नागरिकले घर घरमा थप बत्ती समेत बालेपछि विद्युत् माग देशव्यापी रुपमा १२० देखि १५० मेगावाटको हाराहारीमा बढेको हो ।

विद्युत् माग ह्वात्तै बढ्ने आशंकालाई मध्यनजर गरेरै प्राधिकरणले सोमबार नै बढी विद्युत् खपत हुने विद्युतीय उपकरण नचलाउन सार्वजनिक सूचना मार्फत आह्वान गरेको थियो ।

प्राधिकरणले तिहारमा विद्युत् माग बढेर १५ सय ५० मेगावाट पुग्ने प्रक्षेपण यसअघि नै गरिसकेको छ ।

विद्युत् माग बढेपछि उद्योगलाई दिइदै आएको बत्ती प्राधिकरणले काटेको थियो । माग व्यवस्थापनका लागि आवश्यक तयारी गरिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले बढी विद्युत् खपत गर्ने उपकरण नचलाउन र साँझको समयमा विद्युत् खर्च नगर्न समेत आग्रह गरेको छ । यस्तै कुनै पनि स्थानमा समस्या आए तत्काल मर्मत सम्भारका लागि समेत टोली तम्तयारी हालतमा राखिएको जनाएको छ ।

काठमाडौँ उपत्यकाको हकमा भने लोड बढी हुने स्थानको केवल तथा फिडरहरु मर्मत गरेको छ । बानेश्वर र चपली सवस्टेशनको क्षमता बढाइएको छ ।

तर काठमाडौँ उपत्यकामा विगत एक वर्षमा १० प्रतिशत भन्दा बढी नयाँ घर बनेको र विद्युत् माग समेत बढेकाले केही स्थानमा ट्रिपिङ हुने समस्या भने कायमै नै रहेको छ । विशेष गरी ११ केभी र ३३ केभीका फिडरमा बढी समस्या आउने गरेको छ ।


क्लिकमान्डु