नेपाल प्रहरीलार्इ प्रधानमन्त्रीको निर्देशन- निर्वाचनको सुरक्षा तयारीमा लाग्नुहोस्



काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिर १० र २१ गतेका लागि तय भएको संघ र प्रदेश सभा निर्वाचनको सुरक्षा तयारीमा जुट्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् ।

बैसठ्ठीऔँ प्रहरी दिवसका अवसरमा प्रहरी प्रधान कार्यालयमा आज आयोजित कार्यक्रममा उनले भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचन सफल पार्न प्रहरीले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै संघ र प्रदेशको चुनावमा पनि सोही प्रकारले  भूमिका निर्वाह हुने विश्वास व्यक्त गरे ।

सीमित स्रोत र साधनका बाबजुद पनि प्रहरीले देशमा शान्ति सुरक्षा कायम गर्न निर्वाह गरेको भूमिका सराहनीय रहेको भन्दै प्रधानमन्त्री देउवाले त्यसका लागि राष्ट्रको तर्फबाट उच्च प्रशंसा गरिने बताए।

प्रहरी र नागरिकबीचको सामिप्यतामार्फत समाजलाई सुरक्षित राख्न थप सक्रिय भएर लाग्न पनि प्रहरीलाई उनले निर्देशन दिए ।

देशभित्र मात्रै होइन संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा खटिएर प्रहरीले अन्तर्राष्ट्रिय क्षेत्रमा शान्ति स्थापनामा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेको प्रधानमन्त्रीको भनाइ थियो ।

गृहमन्त्री जनार्दन शर्माले कर्तव्यपालनका क्रममा वीरगति प्राप्त गरेका प्रहरीको परिवार र घाइते प्रहरीका लागि थप कल्याणकारी कार्यक्रम ल्याउने तयारीमा सरकार रहेको र त्यसलाई संघीय प्रहरी ऐनमै समावेश गर्न लागिएको जानकारी दिए ।

प्रहरीको कामको मूल्यांकन गर्ने निकाय जनता नै हुन् भन्दै उनले रचनात्मक,व्यावसायिक र जनताप्रति समर्पित प्रहरी आजको आवश्यकता भएको उल्लेख गरे ।

प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राखेर व्यावसायिक प्रहरीका रूपमा विकास गर्न आफूले ८४ बुँदे गृह प्रशासन सुधार मार्गचित्र ल्याएको र सोअनुरुप काम भइरहेको गृहमन्त्री शर्माले जानकारी दिए ।

राष्ट्रको सेवा गर्ने  प्रतिबद्धतासहितको एकता र प्रतिस्पर्धात्मक विकास प्रहरीमा हुनुपर्नेमा पनि उनले जोड दिए  ।

प्रहरी महानिरीक्षक प्रकाश अर्यालले प्रहरीले कानूनी मान्यता पाएको दिनको सम्झनामा मनाइने प्रहरी दिवसले सबै प्रहरीलाई देश र जनताप्रति थप कर्तव्यनिष्ठ भएर सेवा प्रदान गर्न झकझक्याउने धारणा व्यक्त गरे ।

कार्यक्रममा प्रधानमन्त्री देउवाले यसवर्ष कर्तव्य पालनका क्रममा ज्यान गुमाएका २५ प्रहरी कर्मचारीको सम्मानमा उनीहरूका परिवारका सदस्यलाई कदरपत्र प्रदान गरे।

प्रधानमन्त्री देउवा, गृहमन्त्री शर्मा, गृहराज्यमन्त्री श्यामकुमार श्रेष्ठलगायतले प्रहरी प्रधान कार्यालयमा रहेको ‘अमर प्रहरी स्मारक’मा पुष्पहार अर्पण गरेका थिए ।

त्यस अवसरमा पूर्व प्रहरी महानिरीक्षक कुवेरसिंह रानालाई ‘लाइफटाइम एचिभमेन्ट एवार्ड’बाट सम्मान गरिएको थियो ।


क्लिकमान्डु