निर्वाचन आयोगद्वारा पत्रकारलाई प्रशिक्षण



विराटनगर । निर्वाचन आयोग विराटनगर क्षेत्रीय कार्यालयले प्रदेश नं १ का पत्रकारलाई एकदिने निर्वाचन र सञ्चार प्रशिक्षक प्रशिक्षण दिएको छ ।

उक्त प्रदेशका १४ जिल्लाका २८  पत्रकारको सहभागिता रहेको सो प्रशिक्षणमा निर्वाचनसम्बन्धी समाचार लेखन, विश्वसनीयता, निष्पक्षता, आधिकारिक स्रोत, समाचारका माध्यमबाट मतदातालाई सुसूचित गराउनेलगायतका विषयमा जानकारी दिइएको थियो ।

प्रशिक्षणमा जिल्ला समन्वय समितिका अध्यक्ष नरेशप्रसाद पोखरेलले जनताले मतदानको माध्यमबाट अन्तरमनको अभिमत प्रकट गर्ने भएकाले निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहितरूपमा गराउनुपर्नेमा जोड दिए।

क्षेत्रीय कार्यालय प्रमुख प्रेमप्रसाद सञ्जेलले स्थानीय तहको निर्वाचनमा मत बदरको संख्या अत्यधिक रहेकाले अब हुने निर्वाचनमा बदर मत हुन नदिनका लागि मतदाता शिक्षा तहगतरूपमा शुरु गरिने जानकारी गराए ।

निर्वाचन आयोगका उपसचिव चन्द्रबहादुर शिवाकोटीले निर्वाचनका लागि आवश्यक कानून र निर्देशिका तयार भइसकेको उल्लेख गर्दै समानुपातिकका लागि मतपत्र छपाइको काम शुरु भइसकेको बताए ।


क्लिकमान्डु