इन्भेष्टर फोरमले माग्यो बैंकलाई ब्रोकर लाइसेन्स




काठमाडौं । नेपाल इन्भेष्टर फोरमले सबै बैंक तथा वित्तीय संस्थाहरुलाई सेयर ब्रोकरको लाइसेन्स दिन माग गरेको छ । फोरम पदाधिकारीले नेपाल स्टक एक्सचेन्ज (नेप्से) का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदलाई भेटेर यस्तो माग गरेको हो ।

फोरमका अध्यक्ष अम्बिका प्रसाद पौडेलको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले प्रमुख कार्यकाकारी अधिकृत साउद समक्ष ५ बुदे ध्यानाकर्षण पत्र पनि बुझाएको छ ।

फोरमले बुझाएको ध्यानाकर्षण पत्रमा निर्धारित समयमा नै अनलाइन ट्रेडिङ सुरु गर्न भनिएको छ । यस्तै दोस्रो बुदामा बैंक तथा वित्तीय संस्थाहरुलाई ब्रोकर लाइसेन्स प्रदान गरी सबै स्थानीय तहबाट सहज रुपमा सेयर कारोबार गर्ने वातावरण तयार गर्न भनिएको छ ।

यस्तै सेयर ब्रोकरको कार्यक्षेत्र विस्तार गर्न पनि फोरमले नेप्सेको ध्यानाकर्षण गराएको छ । बुदा नम्बर ४ मा अक्सन तथा हकप्रद सेयरलाई तत्कालै आस्वा प्रणालीमा आवद्ध गरी नेपालभरिका सम्पूर्ण लगानीकर्ता सहज किसिमले सहभागी हुन सक्ने ब्यवस्था गर्न भनिएको छ । बजार निर्माता र डिलरसिपको कार्य पनि तत्काल अगाडि बढाउन नेप्सेको ध्यानाकर्षण गराइएको फोरमका अध्यक्ष पौडेलले जानकारी दिए ।


क्लिकमान्डु