पुँजी बजारको विकासका लागि नेप्सेका नवनियुक्त सीइओ साउदका ५ मन्त्र



काठमाडौं । नेपाल स्टक एक्सचेञ्जका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीइओ) चन्द्रसिंह साउदले आफ्नो कार्यकालमै गैर आवासिय नेपाली (एनआरएन)ले नेपालको सेयर बजारमा लगानी गर्न पाउने बताएका छन् ।

सोमबारको मन्त्रीपरिषदबाट नेप्सेको प्रमुख बनेका साउदले पुँजी बजारको विकासका लागि एनआरएनलाई पनि लगानी गर्ने वातावरण बनाउनु अत्यावश्यक भएको बताए । विगत लामो समयदेखि एनआरएनलाई सेयर बजारमा लगानी गर्न पाउने व्यवस्था गर्न माग हुँदै आएको थियो ।

त्यसैगरी उनले अनलाइन सिस्टमलाई पूर्णरुपमा कार्यान्वयनमा ल्याउने बताए । त्यस्तै, पुँजी बजारमा अनुशासनको कमी भएको उल्लेख गर्दै आफ्नो कार्यकालमा पुँजी बजारलाई अनुशासनमा राख्ने योजना सुनाए ।

केही महिना अघिमात्रै गठन भएका ७४४ वटै स्थानीय तहमा पुँजी बजारलाई पुर्याउने आफ्नो योजना रहेको साउदले सुनाए ।

‘गाउँपालिकाको गठन भएसँगै हरेक स्थानीय तहमा बैंकहरु पुग्दैछन्, यसको फाइदा पुँजी बजारले लिनै पर्छ,’ उनले भने, ‘अब हरेक स्थानीय तहका जनताले आफ्नै गाउँबाट पुँजी बजारमा लगानी गर्न पाउने व्यवस्था मिलाउँछु ।’

यसबाहेक इमानदारीपुर्वक पुँजी बजारको विकासका लागि लाइन एजेन्सीहरुसँग सहकार्य गरेर काम गर्ने उनले सुनाए ।

‘सरकारले मलाई यस्तो महत्वपूर्ण जिम्मेवारी दिएको छ, म इमानदार भएर पुँजी बजारको विकासका लागि अहोरात्र खट्छु,’ साउदले भने ।

सरकारले नियुक्त गरे पनि उनले औपचारिक पत्र भने बुझेका छैनन् ।

‘योजनाहरु अरु थुप्रै छन्, औपचारिकरुपमा चिठ्ठी बुझेपछि भन्ने नै छु,’ साउदले भने, ‘संभवत मंगलबार नियुक्तिपत्रको चिठ्ठी बुझ्छु होला ।’


पुष्प दुलाल