सिंहदरबारसहितका ३ स्थानमा नि:शुल्क वाईफाई



काठमाडौं । प्राधिकरणले सिंहदरबार, पद्मकन्या क्याम्पस र संचारग्राममा राख्न लागेको निशुल्क वाईफाईको लागि आव्हान गरेको प्रस्तावमा ४ कम्पनीहरुले प्रस्ताव पेश गरेका ।

तोकिएका सार्वजनिक क्षेत्रहरुमा निशुल्क वाईफाई सुविधा दिनका लागि प्रस्ताव आव्हान गरिएकोमा प्राधिकरणले प्रस्ताव पेश गर्ने कम्पनीहरुको प्रस्ताव आइतवार खोलेको छ ।

सो निशुल्क वाईफाई संचालन गर्नका लागि चारवटा कम्पनीले प्रस्ताव पेश गरेकोमा सबैभन्दा कम मूल्यको प्रस्ताव भायोनेट प्रालिले राखेको छ ।

प्राधिकरणकाअनुसार भायोनेटले ५५ लाख २१ हजार ३६० रुपैयाँमा सो निशुल्क वाईफाई जडान तथा संचालन गर्न प्रस्ताव दिएको छ भने उल्लेख गरिएको मूल्यमा ६१ प्रतिशतसम्म छुट दिने उल्लेख छ ।

तीन स्थानमा निशुल्क सार्वजनिक वाईफाई संचालन गर्नका लागि वल्र्डलिंक, ब्रोडलिंक र सुविसुसहित भायोनेटले पनि आवेदन दिएको थियो ।

दूरसंचार प्राधिकरणले खर्च बेहोर्नेगरी ल्याईएको निशुल्क वाईफाई कार्यक्रममा सेवा प्रदायक कम्पनीहरुले सेवा संचालनको लागि आवश्यक उपकरणहरु जडान, संचालन तथा मर्मतको जिम्मा लिनुपर्ने हुन्छ । ती स्थानहरुमा स्वीकृत कम्पनीले ब्रोडब्याण्ड नेटवर्क स्थापना गरेर इन्टरनेट सेवा प्रदान गर्नुपर्ने हुन्छ ।

सेवा प्रदायकहरुले प्रस्ताव स्वीकृतभएपछि सम्झौता भएको दुई महिनाभित्र ती स्थानहरुमा वाईफाई जडान तथा संचालन गरिसक्नुपर्ने प्रस्तावको शर्तमा राखिएको छ ।

प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले आइतवार प्रस्ताव भर्ने अन्तिम दिनसम्म ४ कम्पनीहरुको प्रस्ताव आएको र ती प्रस्तावहरु हेरिएको जानकारी दिए ।

‘प्रस्तावअनुसार कम्पनी छनौट गरेर निशुल्क वाईफाई जडान तथा संचालनको जिम्मा दिन्छौं, यसको लागि करिब २ महिना लाग्नसक्छ,’ अर्यालले क्लिकमाण्डूसँग भने ।

प्राधिकरणले उपत्यकालगायत देशका विभिन्न स्थानहरुमा सार्वजनिक स्थलमा निशुल्क वाईफाई सेवा संचालन गर्ने योजनाअनुसार पहिलो चरणमा सिंहदरबार, पद्मकन्या क्याम्पस र संचारग्राममा निशुल्क वाईफाईको व्यवस्था गर्न लागेको हो ।
प्राधिकरणले सो स्थानहरुमा निशुल्क वाईफाई सेवा संचालनका लागि करिब ९० लाख रुपैयाँ लाग्ने प्रारम्भिक अनुमानित लागत निर्धारण गरेको थियो ।


क्लिकमान्डु