नेपालमा एनआरएनको कति छ लगानी ?



काठमाडौं । बिदेशमा आर्जित पूँजी र सीप नेपालमा लगानी गर्ने भन्दै सन् २००३ मा गैरआवासीय नेपाली अभियान सुरु भयो । यो अभियानसँगै विभिन्न देशमा पेशा तथा ब्यबसाय गरेर बसेका नेपाली तथा नेपाली मूलका विदेशी नागरिकले नेपालमा लगानी बढाउन थालेका छन् ।

नेपालमा एनआरएनको लगानी कति छ ? कसैले पनि ठ्याक्कै भन्न सक्ने अवस्था छैन । किनभने यसबारे अध्ययन अनुसन्धानहरु भएका छैनन् ।

तर, ०२७० सालमा नेपाल आर्थिक पत्रकार समाजले देशभरका विभिन्न ९ वटा जिल्लामा एनआरएनको लगानी बारे अनुसन्धान गरेको थियो । संभवत नेपालमा एनआरएनको लगानी बारे हालसम्म भएको एकमात्र अध्ययन प्रतिवेदन हो यो ।

अध्ययन अवधिसम्ममा एनआरएनले विभिन्न ६७ वटा उद्योग तथा व्यवसायमा ३० अर्ब रुपैयाँभन्दा बढी लगानी गरेको पाइएको थियो । प्रतिवेदनअनुसार गैरआवासीय नेपालीहरुले मुख्यतः जलबिद्युत, बैंकिङ, पर्यटन, पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा, संचार, कृषि लगायतका क्षेत्रमा लगानी गरेको पाइएको हो ।

काठमाडौं, ललितपुर, भक्तपुर, गोरखा, मकवानपुर, कास्की, बागलुङ, सिराहा र चितवनमा अध्ययन गरेको थियो । यी जिल्लाहरुमा भएको लगानीमध्ये ५७ प्रतिशत सेवा क्षेत्रमा लगानी भएको पाइएको छ ।

त्यसैगरी, उर्जा तथा जलविद्युत क्षेत्रमा कूल लगानीको २४ प्रतिशत, उत्पादनमूलक उद्योगमा १६ प्रतिशत र बाँकी सामाजिक क्षेत्रमा लगमानी गरेको पाइएको थियो ।

अनुसनधन गरिएका जिल्लाहरुमध्ये सबैभन्दा धेरै काठमाडौंमा लगानी भएको पाइएको छ । ९ जिल्लामा भएको कूल लगानीमध्ये ७८ प्रतिशत काठमाडौंमा भएको प्रतिवेदनमा उल्लेखछ ।

अध्ययन गरिएका यी ९ जिल्ला एनआरएनको सबैभन्दा धेरै लगानी भएका जिल्लाहरु हुन् । त्यसयता पनि एनआरएनहरुले नेपालमा लगानी बढाइरहेकाले अहिले यो लगानी धेरै ने बढेको एनआरएनए अभियान्ताहरु बताउँछन् ।


पुष्प दुलाल