११ वटा खानी अन्वेषणमा २९ कम्पनीको आबेदन




काठमाडौं । खानी तथा भूगर्भ विभागले ७ महिना बित्न लाग्दा पनि नेपालका विभिन्न स्थानमा रहेका खानीको उत्खन तथा अन्वेषण गर्ने कम्पनीको टुङ्गो लगाउन सकेको छैनन् ।

विभागले २०७३ चैत १ गतेदेखि नेपालका १५ वटा खानी उत्खन तथा अन्वेषणका लागि खुल्ला प्रतिस्पर्धा मार्फत आव्हान गरेको थियो । जसमध्ये १२ वटा खोज तलास र ३ वटा उत्खनका लागि विभागले खानी छुटाएको छ ।

सरकारले १ बर्षदेखि निजी क्षेत्रलाई खनिजजन्य पदार्थ खोजी गर्ने अनुमति दिन रोक लगाएको थियो । हाल पुनः निजी क्षेत्रलाई खनिजजन्य पदार्थको खोजीमा सहभागि गर्नका खुल्ला प्रतिस्पर्धा मार्फत आव्हान गरिएको हो ।

१५ वटा खानीमध्ये ११ वटा खानीका लागि ३ विदेशीसहित २९ वटा कम्पनीले इच्छा देखाएको विभागका उपनिर्देशक रामप्रसाद घिमिरेले जानकारी दिए ।

‘११ वटा खानीका लागि २९ वटा कम्पनीबाट प्रस्ताव आएको छ, कम्पनीहरुको आन्तरिक मुल्याङकनको काम भईरहेको छ र एक महिनाभित्रमा कम्पनीहरुको सर्ट लिस्टिङ हुन्छ,’ उपनिर्देशक घिमिरेले क्लिमाण्डूसँग भने ।

कम्पनीहरुको सर्ट लिस्टिङको काम सुस्त गतिमा भईरहेको उपनिर्देशक घिमिरे स्वीकार गर्छन ।

‘२९ वटै कम्पनीको एकैचोटी अध्ययन गर्न सकिदैन । प्रत्यक कम्पनीलाई एक-एक गरि अध्ययन गर्नुपर्ने हुन्छ, त्यसैले समय बढ्न गएको हो,’ उनले भने ।

चुनावको प्रभाव

निर्वाचनको समय कर्मचारीहरुलाई सरकारले परिवेक्षकका रुपमा परिचालन गर्ने गरेको छ । पछिल्लो समय स्थानिय तहको निर्वाचनमा खानी विभागका कर्मचारीहरु पनि परिवेक्षकका रुपमा सहभागि भएका थिए ।

निर्वाचनमा कर्मचारीको सहभागिता कारण विभागमा कर्मचारीको अभाव भएकाले अन्तरिक मुल्याङकन कामले गति लिन नसकेको विभागका एक उच्च अधिकारीले बताएका थिए ।

अब फेरि मंसिर १० र २१ गते प्रदेश सभा र संसदीय निर्वाचन हुन गईरहेको छ । विभागले एक महिना भित्रमा कम्पनीहरुको सर्ट लिस्टिङ गरिएन भने प्रक्रिया अझै लम्बिने निश्चित छ ।

खोज तलासका लागि खुल्ला गरिएको खानी

जिल्ला खनिज क्षेत्रफल (वर्ग किलोमिटर)
धादिङ/मकवानपुर लिड, जिन २२.३११
धादिङ/मकवानपुर लाइमस्टोन २४.२४४
धादिङ/मकवानपुर लाइमस्टोन २०.९३५
मकवानुर कप्पर ८
तनहुँ आइरन २६.१९
धादिङ कप्पर १२
मकवानपुर कप्पर १२
उदयपुर कप्पर २४
बैतडी लइमस्टोन १५
उदयपुर लाइमस्टोन ०.९३७५
पाल्पा लाइमस्टोन १५
पाल्पा लाइमस्टोन १५

अन्वेषणका लागि खुल्ला गरिएको खानी

जिल्ला खनिज क्षेत्रफल (बर्ग किलोमिटर)
काभ्रे लाइमस्टोन १.३७५
स्याङजा लाइमस्टोन १०.०२८८
सुर्खेत लाइमस्टोन १.९६६


क्लिकमान्डु