दूरसंचार प्राधिकरणले अन्तराष्ट्रिय फोनकलको अनुमगन गर्ने, नयाँ प्रविधि जडान हुँदै



काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले अन्तराष्ट्रिय फोनकलको अनुगमन गर्न नयाँ प्रविधि जडान गर्ने भएको छ । प्राधिकरणले अन्तराष्ट्रिय टेलिकम्यूनिकेसन्स ट्राफिकको अनुगमन, नापजाँच र छली रोक्न परामर्शदाता नियुक्त गर्ने प्रविधि जडान गर्ने कार्य शुरु गरेको छ ।

शुक्रबार एक सूचना प्रकाशित गर्दै प्राधिकरणले अन्तराष्ट्रिय टेलिकम ट्राफिक अनुगमन, नापजाँच र छली रोक्ने किसिमको नयाँ प्रविधिको विकास गर्न परामर्शदाताको लागि आव्हान गरेको छ ।

प्राधिकरणसँग हाल अन्तराष्ट्रिय टेलिकम ट्राफिकको अवस्था के छ र कुन दूरसंचार कम्पनीले कति उपयोग गरिरहेका छन भन्ने कुनै जानकारी छैन् । सो जानकारी हासिल गर्न पनि नयाँ प्रविधि ल्याउन लागिएको जानकारी दिईयो ।

सो परामर्शदाता कम्पनी वा व्यक्तिले प्राधिकरणका लागि इन्स्टल गरिने हार्डवेयर र सफ्टवेयरको डिजाइन, विकास र आपूर्ति गर्नुपर्ने छ ।

सो प्रणालीमा स्थानीय तथा अन्तराष्ट्रिय ट्राफिक भोल्यूमको रियर टाइम डाटा दिने किसिमको हुनुपर्नेछ भने अन्तराष्ट्रिय फोनकल छली गर्ने वा अनधिकृत कार्य गर्ने अपरेटरहरुको बारेमा ट्रयाक गर्ने र पत्ता लगाउनसक्ने किसिमको हुनुपर्नेछ । यसका साथमा स्थानीय तथा अन्तराष्ट्रिय टेलिकम्यूनिकेसन ट्राफिकको गुणस्तर निर्धारण गर्नसक्ने किसिमको हुनुपर्ने सू्चनामा उल्लेख छ ।

प्राधिकरणले सो प्रविधिको बारेमा परामर्शको लागि अन्तराष्ट्रिय परामर्शदाताहरु मात्र लिनेगरि सूचना प्रकाशित गरिएको छ ।

प्राधिकरणका अध्यक्ष दिगम्बर झाले अन्तराष्ट्रिय फोनकलको जानकारी सहि र स्पष्टरुपमा राख्ने उद्देश्यले नयाँ प्रणाली राख्न लागिएको जानकारी दिए ।
‘अन्तराष्ट्रिय गेटवेको अनुमति पाएका दूरसंचार कम्पनीहरुले के गरिरहेका छन कुनै जानकारी छैन्, यो प्रविधि आएपछि प्राधिकरणले सबैको अनुगमन गरेर सिधै तत्काल जानकारी लिनसक्दछ,’ उनले क्लिकमाण्डूसँग भने ।

प्राधिकरणले पहिलो चरणमा इच्छुक कम्पनीहरुको प्रस्ताव लिने र दोस्रो चरणमा उनीहरुको प्राविधिक तथा अन्य क्षमताको आधारमा छनौट गरेर परामर्शदाता नियुक्त गर्ने बताईएको छ ।

हाल नेपालमा अन्तराष्ट्रिय फोनकल गेटवेको अनुमति नेपाल टेलिकम, एनसेल, नेपाल स्याटेलाइट टेलिकम, स्मार्ट टेलिकम, यूटिएल र एसटिएमसँग भएपनि तीनवटा कम्पनीहरु नेपाल टेलिकम, एनसेल, स्मार्ट टेलिकम र यूटिएलले मात्र सो अनुमतिको उपयोग गरिरहेको प्राधिकरणको भनाई छ ।

प्राधिकरणका एक अधिकारीकाअनुसार दूरसंचार कम्पनीहरुले अन्तराष्ट्रिय फोनकल ट्राफिकको सूचना नै नदिने, दिएपनि स्पष्ट सूचना नदिने तथा राजस्व छली गरेको आशंकामा सो प्रविधि निर्माण गर्न लागिएको हो ।

सो प्रस्तावअनुसार इच्छुक कम्पनीले यहि नोभेम्बर ६ तारिखभित्र प्रस्ताव पेश गर्नुपर्नेछ ।


क्लिकमान्डु