दशैंमा पैसा जोगाउनु भएको छ भने यी कम्पनीको सेयर खुल्दैछ, भर्नुस्



काठमाडौं । तपाईंले आफूसँग भएको सबै पैसा दशैंमा खर्च गरेर सक्नुभयो कि केही पैसा बाँकी छ ? बाँकी छ भने तपाईंका लागि लगानीको सुनौलो अबसर आउँदैछ ।

दशैंलगत्तै विभिन्न ४ कम्पनीले सेयर निष्काशन गर्दैछन् । ती कम्पनीले सेयर जारी गर्ने मिति तोकेर आव्हान पत्र पनि सार्वजनिक गरिसकेका छन् ।

सुनसरीमा मूख्य कार्यालय राखेर १० जिल्लामा कारोबार गर्दै आएको माइक्रोफाइनान्सले असोज १८ गतेदेखि १ लाख ८० हजार कित्ता साधारण सेयर जारी गर्दैछ ।

सर्वसाधारणले असोज २३ गतेसम्म सेयर भर्न पाउने छन् । असोज २३ गतेसम्ममा पनि बिक्री नभए कात्तिक १६ गतेसम्मका लागि बिक्री खुल्ला रहने बिक्री प्रबन्धक एनएमबी क्यापिटल तोकिएको छ ।

हाल कम्पनीको चुक्ता पुँजी ४ करोड २० लाख रुपैयाँ छ । सेयर निष्काशन गरेपछि चुक्ता पूँजी ६ करोड रुपैयाँ पुग्नेछ ।

त्यसैगरी, एक्सेल डेभलपमेन्ट बैंकले पनि असोज १८ गतेदेखि ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्दैछ । भदौ २१ गतेसम्म सेयर किनेका सेयरधनीले कात्तिक २१ गतेसम्म यो कम्पनीको हकप्रद सेयर भर्न सकिने बिक्री प्रबन्धक एस क्यापिटलले जनाएको छ ।

हकप्रद जारी गरेपछि बैंकको चुक्ता पूँजी ५७ करोड ६८ लाख रुपैयाँ पुग्नेछ ।

त्यसैगरी, ओम डेभलपमेन्ट बैंकको २३ असोजदेखि हकप्रद बिक्री खुला गर्ने भएको छ । भदौ २९ गतेसम्म कम्पनीको सेयर हुनेहरुले कात्तिक २६ गतेसम्म सेयर भर्न पाउने छन् । यो कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइबिएल क्यापिटल, नेपाल इन्भेष्टमेन्ट बैंकका शाखा र ओमकै शाखाहरुबाट हकप्रद भर्न सकिनेछ ।

त्यस्तै, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको हकप्रद सेयर २६ असोजदेखि हकप्रद सेयर निष्काशन गर्दैछ । असोज १७ गतेसम्म सेयर स्वामित्व हुनेले हकप्रदका लागि कात्तिक २९ गते आवेदन दिन सक्नेछन् ।


पुष्प दुलाल