फेसबुक, ट्वीटर र यूट्यूव लगायतका सामाग्रीको प्रबर्द्धनमा रोक लगाउने तयारी



काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले नेट न्यूट्रालिटीको लागि आवश्यक निर्देशिका छिट्टै लागू गर्ने जानकारी दिएको छ ।

पछिल्ला दिनहरुमा टेलिकम अपरेटरहरु तथा आईएसपीलगायतका अनुमति प्राप्त कम्पनीहरुले फेसबुक/यूट्यूव/ट्विटर जस्ता कुनै निश्चित तोकिएका सामाग्रीहरु (कन्टेन्ट) लाई मात्र प्रबद्र्धन गर्ने प्रवृत्ति बढेको भन्दै प्राधिकरणले नेट न्यूट्रालिटीको लागि नियमन निर्देशिका ल्याउन लागेको जानकारी दिएको छ ।

प्राधिकरणका वरिष्ठ निर्देशक पुरुषोत्तम खनालले सिमित कन्टेन्टहरुलाई मात्र प्रबर्द्धन गर्ने कार्यलाई निरुत्साहित गर्न नेट न्यूट्रालिटीको नियमन निर्देशिका बनाउन लागिएको जानकारी दिए ।

‘फेसबुक, ट्विटर वा यूट्यूब जस्ता कन्टेन्टहरुको प्रबद्र्धन गर्ने प्रचलन नेपालमा पनि बढिरहेको छ, यस्तो प्रवृत्तिलाई हटाउन नियमनको आवश्यकता भएको हो,’ प्राधिकरणका वरिष्ठ निर्देशक खनालले क्लिकमाण्डूसँग भने ।

उनकाअनुसार छिमेकी मुलुक भारतमा पनि नेट न्यूट्रालिटीको नियमन रहेको र अन्य देशहरुले पनि सिमित कन्टेन्ट मात्र प्रबद्र्धन गर्न रोक लगाउने गरेका छन् ।

प्राधिकरणमा नेट न्यूट्रालिटीको नियमन खाका बनाउने जिम्मा पाएका परामर्शदाता प्रवीण सुवेदीले बुझाएको मस्यौदाको अध्ययन भईरहेको वरिष्ठ निर्देशक खनालले जानकारी दिए ।

विज्ञले तयार पारेको रिपोर्ट आएको छ, अब यो अध्ययन गरेर बोर्डमा पेश गरेर पारित भएपछि लागू हुनेछ, उनले भने ।

सो मस्यौदा नियमन आन्तरिकरुपमा गठन भएको समितीले आवश्यक अध्ययन गरेर प्राधिकरणको बोर्डमा पेश गर्नेछ र त्यसपछि मात्र लागू हुनेछ ।

प्राधिकरणले गएको बैशाखमा नै नेट न्यूट्रालिटीको लागि आवश्यक कानून नभएको हुँदा नियमन खाका बनाउन प्रवीण सुवेदीलाई परामर्शदाताको रुपमा नियुक्त गरेर नियमन खाका बनाउने जिम्मा दिएको थियो । सुवेदीले हालै प्राधिकरणमा विभिन्न राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रको अध्ययनसहित मस्यौदा बुझाएका हुन् ।

सो प्रारम्भिक मस्यौदालाई कानूनको अन्तिमरुप दिन करिब १ महिना लाग्ने र त्यसपछि कानूनको रुपमा आउने खनालको भनाई थियो ।


क्लिकमान्डु