प्रचण्ड पुत्री रेणु नेतृत्वको भरतपुर महानगरले तीन अर्बको बजेट ल्याउने



चितवन । भरतपुर महानगरपालिकाले तीन अर्ब रुपैयाँ हाराहारीको बजेट ल्याउने तयारी गरेको छ ।

महानगरपालिकाको कार्यपालिकाले पूर्णता पाएपछि बसेको पहिलो कार्यपालिका बैठकले आर्थिक वर्षको राजश्व र आयव्ययको अनुमान गरी नगरसभामार्फत पारित गर्ने कार्य औपचारिकरुपमै शुरु हुन लागेको हो ।

भरतपुर महानगरपालिकाका कार्यकारी अधिकृत प्रेमराज जोशीले असोज १८ गतेदेखि नगरसभाका लागि तयारी थालिने बताए ।

‘वडा तहबाट योजना संकलन गर्ने काम हुनेछ, डेढ महिना ढिलो भएपनि हामी आन्तरिक तयारीमै थियौँ, बजेट सिलिङ बनाएर वडा तहमा योजना माग गर्न जानेछौँ,’ उनले भने ।

प्रमुखको संयोजकत्वमा रहेको महानगरको स्रोत अनुमान समितिको बैठकमा स्रोत पहिचान गरेर क्षेत्रगत बजेट सिलिङ तयार गरी वडा तहमा योजना मागका लागि संयन्त्र परिचालन हुने कार्यकारी अधिकृत जोशीले बताए ।

वडा भेलामार्फत तल्लो तहबाट उच्च प्राथमिकतामा परेका योजना संकलन गरिनेछ । २९ वटै वडाबाट आएका योजनाका आधारमा समग्र महानगरको बजेट नीति तथा कार्यक्रम बन्ने उपप्रमुख पार्वती शाहले बताइन् ।

उनका अनुसार कात्तिक २० गतेभित्र वडा तहबाट योजना संकलन गर्ने काम पूरा हुनेछ । कात्तिक मसान्तभित्र नगरसभा गर्ने तयारी गरिएको छ ।

महानगरले छ वटा क्षेत्रगत समिति बनाएर वडा–वडाबाट माग भएका योजनाको छलफल गरी अत्यावश्यक योजना समेट्ने रणनीति बनाएको छ । उपप्रमुखको संयोजकत्वमा रहेको बजेट तथा योजना तर्जुमा समितिमा छलफल भएपछि समग्र योजना नगरसभामा प्रस्तुत गरिनेछन् ।

गत वर्षका अधुरा योजना यसपालि कार्यान्वयनको चरणमै रहने उपप्रमुख शाहले बताइन् ।

कार्यकारी अधिकृत जोशीले विगतका स्थानीय निकायको बजेट आकार तथा वर्तमान अवस्था विश्लेषण गर्दा झण्डै तीन अर्ब रुपैयाँ बराबरको बजेट प्रक्षेपण हुने सम्भावना रहेको जानकारी दिए ।

भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहालले बजेटमा सडक सञ्जाल पहिलो प्राथमिकतामा रहने बताइन । त्यसैगरी पिउने पानी र आयआर्जनका काम अल्पकालीन योजनाका रुपमा रहने उनले जानकारी दिइन् ।

दीर्घकालीन योजनाका रुपमा बृहत् गुरुयोजना निर्माण गरी मेगा सिटी, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा विशेष बजेटको व्यवस्था गरिने प्रमुख दाहालले बताइन् ।


क्लिकमान्डु