कृष्णसारलाई कुपोषण बाट जोगाउन पोषणयुक्त आहार



कञ्चनपुर ।शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुर फाँटामा संरक्षित लोपोन्मुख प्रजातिको कृष्णसारलाई कुपोषण बाट जोगाउनका लागि प्रति दिन पोषणयुक्त आहार खुवाउने गरिएको छ ।

कृष्णसारलाई चोकर, पशुआहार, चना, मटमास लगायतका पोषणयुक्त आहार प्रति दिन पन्ध्र किलोका दरले खुवाउने गरिएको छ ।

पोषणयुक्त आहार संगै मिनरल्स र आन्तरिक परिजिवीको संक्रमणबाट जोगाउनका लागि तीन तीन महिनामा जुकाको औषधि खुवाउदै आएको कृष्णसारको उपचारमा संलग्न पशु प्राविधिक धनिराम चौधरीले बताए ।

बाह्य हिंसक वन्यजन्तु बाट जोगाउनका लागि बनाईएका ग्याविन बक्समा कृष्णसारलाई चर्नका लागि मसुरो, गहुँ, मकै, अरहर छर्नुका साथै  किम्बुका विरुवा रोप्ने गरिएको छ ।

चितुवा, बाघ र अन्य जनावरले कृष्णसारलाई आक्रमण गर्न नसकोस भनेर फेन्स वायर जडान गरिएको निकुञ्जका कर्मचारीहरुको भनाई रहेको छ ।

सन् २०१२ सेप्टेम्बरमा दुई पटक गरि नेपालगञ्ज मिनी चिडिया घर बाट २२, सन् २०१२ को अक्टुवरमा केन्द्रिय चिडियाखाना जावलाखेलबाट छ वटा र कृष्णसार संरक्षण क्षेत्र खैरापुरबाट सन् २०१५ जुलाईमा १४ वटा गरि जम्मा ४२ वटा कृष्णसार स्थानान्तरण गरि ल्याईएको छ ।

हाल संरक्षण क्षेत्रमा कृष्णसारको संख्या ५५ पुगेको छ । जसमध्ये  बयस्क भाले १९ र पोथीको संख्या १५ र बच्चाको संख्या २१ रहेको छ । शुक्लाफाँटा वन्यजन्तु आरक्षको संभाव्यता अध्ययन पछि यहाँ कृष्णसारलाई स्थानान्तरण गरिएको हो ।

कृष्णसारलाई पानीको व्यवस्था गर्न संरक्षण क्षेत्रमै दुई वटा कृतिम पोखरी र दुई वटा छहारी घर निर्माण गरिएको छ ।


क्लिकमान्डु