सुरक्षाका लागि प्रहरीको ‘चालकसँग एक मिनेट र यात्रुसँग दुई मिनेट’ अभियान



चितवन। राजधानी काठमाडौँ र बाहिरी जिल्लाबाट दशैँ मान्न घर जाने यात्रुलाई मध्यनजर गर्दै यहाँ प्रहरीले चालकसँग एक मिनेट र यात्रुसँग दुई मिनेट विशेष अभियान शुरु गरेको छ ।

देशको मध्यभाग भएकाले चितवन हुँदै ठूलो संख्यामा सवारीसाधन आवातजावत गर्ने गर्दछन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार चालकसँग नजिकै गएर प्रहरीले सडकको अवस्था, सडकमा आइपरेका समस्या सोध्ने गर्दछन् । जसका कारण चालकले मादक पदार्थ सेवन गरे नगरेको थाहा हुने गर्दछ भने लाइसेन्स भए नभएको थाहा हुने थापाले बताए।

त्यसैगरी बसमा आरक्षण सिटमा आरक्षित व्यक्ति बसे नबसेको र बढी भाडा लिए नलिएको विषयमा यात्रुसँग सोधपुछ गरिने छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सन्तोष पन्तका अनुसार काठमाडौँबाट आउने सवारीलाई भरतपुरको आँपटारीमा र पूर्वबाट आउने सवारीलाई भरतपुरकै गोन्द्राङमा जाँच गरिएको छ । बसपार्कमा यात्रु तान्ने, बढी भाडा लिनेजस्ता काम रोक्न नारायणगढको पोखरा बसपार्क, पुल्चोक र भरतपुरको केन्द्रीय बस टर्मिनलमा प्रहरी परिचालन गरिएको छ ।

दुवै बसपार्कमा एक जना नेपाल प्रहरी र एक जना ट्राफिक प्रहरी चौबीसै घण्टा रहने गरी यात्रु सहायता कक्ष सञ्चालन गरिएको पन्तले बताए ।

जिल्लालाई छ वटा भागमा विभाजन गरेर यहाँका बैंक, वित्तीय संस्था, सुनचाँदी लगायतका ठूला बजार क्षेत्रमा विशेष गस्तीको व्यवस्था गरिएको बताइएको छ ।


क्लिकमान्डु