दशैं मान्न काठमाडौंबाट कति बाहिरिए ?
काठमाडौं । काठमाडौं उपत्यकाबाट दशैं मनाउन हालसम्म १९ लाख यात्रु बाहिरिएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता उमेश रञ्जितकारका अनुसार गत भदौ २० गतेदेखि उपत्यकाबाट बाहिरिएका यात्रुको संख्यालाई दशैँका लागि बाहिरिनेको सूचीमा राखिएको छ । उपत्यकाबाट बाहिरिनेको संख्याभन्दा भित्रिनेको संख्या भने निकै न्यून छ ।
बडादशैँका मुख्य दिन नजिकिँदै गर्दा उपत्यकाका चार नाका थानकोट, साँगा, दक्षिणकाली र बालाजुबाट दिनहुँ राजधानीमा पेशा, व्यवसाय र अध्ययनका लागि बसेकाका साथै विदेशबाट फर्किएकाहरु धमाधम बाहिरिरहेका छन् । विशेषगरी थानकोट नाका हुँदै बाहिरिने यात्रुले लामो समय ट्राफिक जामको समस्या भोग्नु परिरहेको छ ।
प्रवक्ता रञ्जितकारले सडक विस्तारका क्रममा भत्काइएको संरचनाको कारण सो क्षेत्रमा जाम भइरहेको बताए ।
उनले भने, “सम्झौताको काम शुरु नहुँदै हामीले आग्रह गरेर ठेकेदारलाई कलंकीबाट थानकोटसम्मको सडकका खाल्डाखुल्डी पुर्न लगार्यौँ, अझै सडक सफा नभएकाले केही समस्या परेको छ ।”
दशैँमा बाहिरिने यात्रुलाई ध्यानमा राखी उपत्काका १२ ठाउँमा ट्राफिक प्रहरीले नागरिक सहायता कक्ष सञ्चालन गरेको छ । सो कक्षबाट यात्रुलाई कुनै समस्या परे सहयोग गर्ने, जानकारी दिने, सवारी भाडा अनुगमन गर्ने लगायत काम भइरहेको छ ।
यस्तै सवारी साधनको बढी चाप हुने नयाँसडक, बसपार्क, कलंकीलगायत स्थानमा थप जनशक्ति परिचालन गरिएको प्रहरीको भनाइ छ । चाडपर्वमा मादकपदार्थ सेवन९मापसे० गरी सवारी साधन चलाउनेको संख्या बढ्ने भएकाले मापसे जाँचलाई तीव्रता दिइएको छ ।
वरिष्ठ उपरीक्षक रञ्जितकारले अरु समयमा साँझ मात्रै हुने मापसे जाँच चाडपर्वको अवधिभर दिनभर पनि हुने जानकारी दिए । यस वर्ष यही असोज १४ गते विजयादशमी परेको छ ।
कालोबजारी गर्ने ३० पक्राउ
टिकटको कालोबजारी गर्ने र तोकिएकोभन्दा बढी भाडा लिने ३० सवारी साधनलाई कारबाही गरिएको छ । बढी रकम लिनेलाई लिएको रकम यात्रुलाई फिर्ता गर्न लगाई आवश्यक कानुनी कारबाही गरिएको रञ्जितकारले बताए ।
चाडपर्वमा यात्रुबाट बढी भाडा असुल्ने र टिकटको कालोबजारी गर्नेलाई निगरानीमा राखिएको ट्राफिक प्रहरीको भनाइ छ । रासस