लुम्बिनी कपिलवस्तु दिवस अभियानद्वारा धुर्मुस सुन्तली फाउण्डेशनलाई ४ लाख सहयोग



काठमाडौँ । लुम्बिनी कपिलवस्तु दिवस अभियानले धुर्मुस सुन्तली फाउण्डेशनलाई ४ लाख रुपैयाँ सहयोग गरेको छ । अभियानले रौतहटको चन्द्रपुर नगरपालिका वडा नं ८ मा रहेको सन्तपुरमा निर्माण भईरहेको एकीकृत नमुना सन्तपुर बस्ती निर्माणका लागि अष्ट्रेलियामा रहेका यस अभियानका विश्व संयोजक ईञ्जिनियर रामकुमार श्रेष्ठको पहलमा अष्ट्रेलियाका १९ जना र लुम्बिनी कपिलवस्तु प्रबर्धन विश्व अभियान, राष्ट्रिय समिति, ईजरायलकी अध्यक्ष मीना वान्तवा राईको पहलमा ईजरायलका १८ जना नेपालीहरुबाट संकलन गरिएको जम्मा ४ लाख २२ रुपैयाँ संकलन गरेको थियो ।

एक कार्यक्रमका बीच लुम्बिनी कपिलवस्तु प्रबर्धन विश्व अभियान काठमाडौँ, नेपालका अध्यक्ष डा. हरिकुमार श्रेष्ठ र सचिव निलेश अधिकारीले धुर्मुस सुन्तली फाउण्डेशनलाई हस्तान्तरण गरेका थिए ।

सो अभियानका बेल्जियम संयोजक दामोदर आचार्यको पहलमा ७ जनाबाट संकलन गरिएका रकम भने दशैँ पर्वपछि उक्त फाउण्डेशनलाई हस्तान्तरण गरिने बारे पनि अभियानका नेपाल अध्यक्षले डा. श्रेष्ठले जानकारी दिए।

कार्यक्रममा लुम्बिनी कपिलवस्तु अभियानको विश्व समिति र राष्ट्रिय समितिको स्थापनाको उद्देश्यको बारेका जानकारी दिनुको साथै अभियानले हालसम्म गरेका मुख्यमुख्य उपलव्धीहरुको बारेमा पनि जानकारी गराईएको थियो ।

ती मुख्य उपलव्धिहरुमा गुगल म्याप, कोरिया र स्वीडेनको पाठ्य पुस्तक, ब्रिटिस म्युजियमलगायत अन्य धेरै स्थानहरुमा बुद्धको जन्मस्थान नेपाल उल्लेख नभएकोमा अभियानको पहलमा बुद्धको वास्तविक जन्मस्थान नेपाल भनी संशोधन गराईएको बारे उक्त कार्यक्रममा जानकारी गराईएको थियो ।

फाउण्डेशनका सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले सो अभियानले गरेको सहयोग सहर्ष स्वीकार गर्दै अभियानका दाताहरु र सम्पूर्ण परिवारमा हार्दिक धन्यवाद ज्ञापन गर्दै बुद्धको जन्मथलो लुम्बिनी, नेपालको प्रचार प्रसारमा निरन्तर लागि रहने प्रतिबद्धता पनि व्यक्त गरे।


क्लिकमान्डु