मध्यरातमा रातमा किन भत्काइयो प्रथम शहिद लखन थापाको शालिक ?



काठमाडौं । मध्यरात । माछापुच्छ्रेको चिसो हावाले पोखरालाई चिसो बनाएको थियो । फेवाताल निदाउने तयारीमा थियो । सडक सुनसान थिए । पोखरेली चुपचाप निन्द्रामा थिए ।

कुकुर आफ्नै तालमा घुकीरहेका थिए । एकाएक पोखरा महानगरको डोजर पृथ्वीचोक तर्फ दौडियो । नगरप्रहरी, नेपाल प्रहरी बुट बजाउँदै दौडिए । एकाएक पोखरामा कोलाहल पैदा भयो । मानिसहरुले ठाने पोखरामा ठूलै दुर्घटना भयो ।

मानिसहरु आशंका रात कटाउन तम्तयार भए । तर साँझ नेपालको पहिलो सहिद लखन थापाको शालिक हेरेर घर फर्केका नागरिक बिहान उठ्दा दंग परे । कोही रिसले आगो भए त कोही महानगर प्रशासनको ज्यादतीको भण्डाफोर गर्नुपर्छ भनेर लागे ।

साँझ सग्लो अवस्थामा रहेको लखन थापाको शालिक मध्यरातमा हटाइयो र स्थानीयका अनुसार हालसम्म बेपत्ता पारियो । सामाजिक सञ्जालमा सहिद लखन थापाको हटाइएको विरोधमा चर्को विरोध भएको छ ।

नेपालको लोकतान्त्रिक आन्दोलनका प्रथम सहिद भनेर राज्यले परिचय दिएको थापाको शालिक हटाइएको विरोधमा नेपाल मगर संघले कडा आपत्ति जनाएको छ । शालिक जुन हालतमा थियो, त्यही हालतमा नराखिए कडा प्रतिवाद गर्ने संघले चेतावनी दिएको छ ।

सम्वद्ध पक्षहरुकाअनुसार नेकपा(एमाले)का तर्फबाट पोखरा लेखनाथ महानगरपालिका प्रमुख मानबहादुर जिसीकै योजनामा लखन थापाको शालिक हटाइएको हो । ट्राफिक व्यवस्थापनको नाममा पुथ्वी चोकमा रहेको शालिक हटाउन एमाले नेताहरु नै क्रियाशिल भएको भन्दै चर्को आक्रोश पैदा भएको छ ।

तर महानगरका तर्फबाट हालसम्म कुनै पनि प्रतिक्रिया आएको छैन । शालिक हटाइएको विरोधमा पोखरामा मात्रै होइन देश विदेशमा समेत चर्को आक्रोश पैदा भएको छ ।

कुन प्रयोजनका लागि कस्को स्वार्थमा शालिक हटाइयो भन्ने बारेमा महानगरले कुनै पनि जानकारी नदिइएको समेत आम रुपमा विरोध भएको छ । दसंैको मुखैमा शालिक हटाएर महानगरले ज्यादती गरेको भन्दै मगर संघलगायतले देशव्यापी रुपमा विरोध गर्ने जनाएको छ ।


पुष्प दुलाल