उद्योगी भन्छन्- बजारमा सिमेन्ट अभाव छैन, विद्युत् प्राधिकरणले झुटो प्रचार गर्यो



काठमाडौं । नेपाल विद्युत् प्राधिकरण र उसका सहायक कम्पनीले निर्माण गरिरहेका जलविद्युत् आयोजनामा सिमेन्ट अभाव भएको भन्ने समाचार सार्वजनिक भइरहेको बेला स्वदेशी सिमेन्ट उद्योगले भने अवस्था त्यस्तो नभएको बताएका छन् ।

सरकारी आयोजनामा प्रयोग हुने सिमेन्ट आयात गर्दा मूल्य अभिवृद्धि कर तिर्नु नपर्ने र सोझै आयोजना स्थलमा पुग्ने गरेका छन् । तर नेपाली सिमेन्टले भने १३ प्रतिशत मूल्य अभिवृद्धि कर तिर्नुपर्छ ।

नेपाली बजारमा कुने पनि प्रकारको सिमेन्ट अभाव नभएको सिमेन्ट उद्योगीले बताएका छन् । तर प्राधिकरणले भने भारतीय सिमेन्टलाई पनि नापतोल तथा गुणस्तर विभागले गुणस्तर चिन्ह लिनुपर्ने वाध्यकारी व्यवस्था गरेपछि आयोजनामा सिमेन्ट अभाव भएको बताइरहेको छ ।

हाल ३ दर्जन सिमेन्ट उद्योग देशभर सञ्चालनमा छन् । तिनीहरुले दैनिक २० हजार टन बढी सिमेन्ट उत्पादन गर्छन् । तर गुणस्तरको विषय देखाएर सिमेन्ट अभाव भयोभनेर गरिने प्रचार भने गलत भएको उद्योगी बताउँछन् ।

अर्घाखाँची सिमेन्ट उद्योगका सञ्चालक समेत रहेका नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पुशपति मुरारका नेपाली सिमेन्ट नबिकेर अनेकन स्किम ल्याइरहेको बेला बजारमा सिमेन्ट पाइएन भन्नु गलत भएको बताए ।

उनले चाडबाडको समयमा सिमेन्ट उद्योग दैनिक एक सिफ्ट मात्रै चलेको र बजारमा कुनै पनि प्रकारको अभाव नभएको बताए । स्ट्रेन्थ  चेक अपको नाममा नेपाली सिमेन्ट प्रयोग नभएको उनले बताए ।

निजी क्षेत्रका जलविद्युत् आयोजनाले नेपाली सिमेन्ट प्रयोग गरेर नै आयोजना बनाइरहेको र अधिकाशं नेपाली सिमेन्टले गुणस्तर चिन्ह लिइसकेको बेला भारतीय सिमेन्ट पनि उक्त चिन्ह लिनुपर्छ भन्ने विषय जायज भएको उनले बताए ।

तर सोही प्रावधान हटाउन भारतीय सिमेन्ट आयातकर्ताले अनावश्यक हल्ला फिजाएको र आयोजनामा सिमेन्ट पाइएन भन्ने जस्ता दुस्प्रचार गरेको उद्योगीहरुको भनाइ छ ।

नेपाली सिमेन्ट उद्योगीले उत्पादन गरेको सिमेन्ट भारतीय बजारमा लैजाँदा आइएसआइ चिन्ह लिनुपर्छ भने नेपाल आउने सिमेन्टले पनि नेपाली गुणस्तर प्रमाणपत्र चिन्ह लिनै पर्ने प्रावधान जायज र नेपाली सिमेन्ट उद्योगको हितमा रहेको उनीहरुको भनाइ छ ।

नेपाली सिमेन्ट उद्योग मध्ये केही सिमेन्ट ‘फ्रास्ट सेटिङ’ हुन नसक्ने र केही समय लाग्ने भएकाले पनि प्राधिकरण र उसका सहायक कम्पनीले लिन अस्वीकार गरेको हुनसक्ने

पछिल्लो समयमा नेपाली सिमेन्ट उद्योग समेत बढेको र उत्पादन क्षमतासमेत बढेका कारण आन्तरिकरुपमा नै आत्मनिर्भर हुने अवस्थामा पुगेको कसमस सिमेन्ट उद्योगका प्रबन्ध निर्देशक प्रबलजंग पाण्डे नेपाली सिमेन्ट उद्योगलाई पनि भ्याट छुट दिएर आयोजनामा लगाउनु पर्ने बताउँछन् ।

नेपाली सिमेन्ट उद्योगले उत्पादन गरेको सिमेन्ट नापतौल तथा गुणस्तर विभागले परिक्षण गर्ने गरेको र उनको शर्त बमोजिम नै उत्पादन भएको दाबी गर्दै पाण्डेले बजारमा सिमेन्ट अभाव भयो, आयोजना रोकिए भन्ने विषय नै गलत भएको दाबी गरे ।

तर उनले नेपाली सिमेन्ट उद्योग मध्ये केही सिमेन्ट ‘फ्रास्ट सेटिङ’ हुन नसक्ने र केही समय लाग्ने भएकाले पनि प्राधिकरण र उसका सहायक कम्पनीले लिन अस्वीकार गरेको हुनसक्ने बताए ।

प्राधिकरणले भने २ महिनासम्म लगाएर ‘स्ट्रेन्थ चेक अप’ गराउनुपर्ने भएपनि परिक्षणमा नआएको बताउने गरेको छ । उदयपुर हेटौंडा सिमेन्टको स्ट्रेन्थ पुग्ने भएपनि मागअनुसार आपूर्ति गर्न नसक्ने प्राधिकरणको भनाइ छ ।

‘अधिकाशं नेपाली सिमेन्ट उद्योगले ४३ ग्रेडको सिमेन्ट उत्पादन गर्दै आएका छन् । नापतौल तथा गुणस्तर विभागले ५३ ग्रेडको मान्यता दिएको छैन । सोही कारण आयातकर्ताले गलत प्रचार गराएका हुन्,’ मुरारकाले भने ।

भारतबाट कति परिमाणमा सिमेन्ट आयात हुने हो, त्यसको कुनै लेखाजोखा रहेको छैन । नेपाली उद्योगको विकास र विस्तार गर्ने हो भने गुणस्तरयुक्त सिमेन्ट उत्पादनमा समेत जोड दिनुपर्ने छ । तर त्यसतर्फ कुनै ध्यान दिइएको छैन ।

हाल ३ दर्जन सिमेन्ट उद्योग देशभर सञ्चालनमा छन् । तिनीहरुले दैनिक २० हजार टन बढी सिमेन्ट उत्पादन गर्छन् । तर गुणस्तरको विषय देखाएर सिमेन्ट अभाव भयोभनेर गरिने प्रचार भने गलत भएको उद्योगी बताउँछन् ।


पुष्प दुलाल