दशैंका लागि हप्ता दिनमै १३ अर्ब नयाँ नोट बजारमा



काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैंका लागि १३ अर्ब रुपैयाँ नयाँ नोट बजारमा पठाएको छ । राष्ट्र बैंकले भदौ २८ गतेदेखि नयाँ नोट सटही सुविधा उपलब्ध गराउँदै आएको थियो ।

शुक्रबारसम्ममा १३ अर्ब रुपैयाँ बजारमा पठाइसकेको राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले जानकारी दिए ।

‘अहिलेसम्म करिब १३ अर्ब रुपैयाँ नयाँ नोट बजारमा पठाइसकेका छौं,’ पण्डितले क्लिकमाण्डूसँग भने, ‘अझै ३÷४ दिन नयाँ नोट साटिनेछ, सबै गर्दा १७÷१८ अर्ब रुपैयाँ नयाँ नोट बजारमा जाने अनुमान गरेका छौं ।’

गत वर्षको दशैंमा राष्ट्र बैंकले ९ अर्ब रुपैयाँ बराबरका विभिन्न दरका नयाँ नोट बजारमा पठाएको थियो ।

गत वर्षको भन्दा यो वर्ष नोट सटही गर्ने समय ३ दिन बढी भएको, सर्वसाधारणको खर्च गर्ने क्षमता बढेको र बढी सटही सुविधा उपलब्ध गराइएकाले गत वर्षभन्दा झन्डै दोब्बर नयाँ नोट बजारमा प्रवाह हुने आँकलन गरिएको पण्डितको भनाई छ ।

राष्ट्र बैंकले हरेक वर्ष दशैंमा नयाँ नोट उपलब्ध गराउँदै आएको छ । ५, १०, २० ५० र १०० रुपैयाँ दर नयाँ नोट साट्न पाइने छ ।

राष्ट्र बैंकले बढीमा एकजना सर्वसाधारणलाई २७ हजार रुपैयाँका दरले नयाँ नोट उपलब्ध गराउने छ । राष्ट्र बैंकको थापथली काउन्टरबाट नयाँ नोट साट्न पाइने छ ।

तर, नेपाल बैंक, कृषि विका बैंक र राष्ट्रिय वाणिज्य बैंकमा गएर नयाँ नोट साट्नु परे २० हजार रुपैयाँभन्दा बढी पाइने छैन ।

राष्ट्र बैंकले यसअघि आफ्नो आफैंले मात्रै सर्वसाधारणलाई दशैंका लागि नयाँ नोट बाँड्थ्यो भने बैंकहरुलाई पनि नयाँ नोट दिन्थ्यो ।

तर, यस वर्ष भने ३ वटै सरकारी बैंकका १६ शाखाबाट नयाँ नोट वितरण गर्ने व्यवस्था मिलाएको हो ।

कहाँ कहाँबाट पाइन्छ ?

राष्ट्रिय वाणिज्य बैंकको सिंहदरबार प्लाजा भवन, टेकु, नयाँ बानेश्वर, सानो ठिमी, विशाल बजार र नक्साल, नेपाल बैँकको न्युरोड, बालाजु, पाटन औद्योगिक क्षेत्र, कीर्तिपुर र भक्तपुर, कृषि विकास बैंकको गौशला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क र मंगलबजारबाट सफा नोट पाइने छ ।

सरकारी निकायलाई नोटको उपलब्धता हेरी भदौ २१ देखि ३० गतेसम्म सटही सुविधा उपलब्ध गराउने राष्ट्र बैंकले जनाएको छ ।

त्यसका अलावा बैंक तथा वित्तीय संस्थाहरुलाई पनि आवश्यकता हेर नयाँ नोट उपलब्ध गराउने राष्ट्र बैंकले जनाएको छ । सर्वसाधारणले बैंक तथा वित्तीय संस्थामा गएर पनि नयाँ नोट साट्न पाउने छन् ।


पुष्प दुलाल