प्रारम्भिक मतगणनामा कांग्रेस अगाडि



काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत प्रदेश नम्बर २ मा भएको निर्वाचनमा प्रारम्भिक मतगणनामा नेपाली कांग्रेस अगाडि देखिएको छ ।

अहिलेसम्म मतगणना भएका स्थानीय तहमा कांग्रेस अगाडि देखिएको हो ।

प्रदेश नम्बर २ को १३६ स्थानीय तहमा सोमबार निर्वाचन भएको थियो । एउटा नगरपालिका बाहेक सबैमा मतदान सकिएको छ ।

बाराको फेटा र बारागढी गाउँपालिकामा कांग्रेसले प्रारम्भिक अग्रता लिएको छ। बाराकै देवतालमा भने नेकपा माओवादी केन्द्र अगाडि छ। कांग्रेस सिरहाको कल्याणपुर र महोत्तरीको बर्दिबासमा अगाडि देखिएको छ। बर्दिबासमा माओवादी केन्द्रले कांग्रेसलाई पछ्याईरहेको छ। कल्याणपुरमा भने राजपाका उम्मेद्वारले पछ्याइरहेका छन्।

धनुषाको मिथिला बिहारी नगरपालिका र सप्तरीको सप्तकोशी नगरपालिकामा भने एमालले अग्रता लिएको छ।

बाराको देवतालसँगै धनुषाको गणेशनाथ चारनाथ नगरपालिकामा भने माओवादी केन्द्र अगाडी देखिएको छ।

सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा फोरम नेपाल अगाडि छ भने सप्तरीको तिलाठीमा राजपा नेपालका उम्मेद्वार अगाडि देखिएका छन्।
मुख्य चासो रहेको प्रदेश नम्बर २ को एक मात्र महानगरपालिका विरगन्जमा भने मतगणना सुरु भएको छैन ।


क्लिकमान्डु