मोबाइल एप ल्याउदै सगुन, पहिलो डेमो सार्बजनिक




काठमाडौं । नेपालीले अमेरिकामा स्थापना गरेको सोसल बिजनेस नेटवर्किङ साइट सगुनले आफ्नो मोवाइल एपको पहिलो डेमो भारतमा रहेको कार्यालयबाट फेसबुक लाइभ गर्दै सार्बजनिक गरेको छ ।

अमेरिकी बजारमा मिनीआइपिओ जारी गरेको आइटी स्टार्टअप कम्पनी सगुनले मोवाइल एपको परीक्षण गरिरहेको छ । नेपालीले स्थापना गरेको सोसल इकमर्स कम्पनी सगुनले दक्षिण एशियाली बजारलाई लक्षित गरेर मोवाइल एप ल्याउन लागेको हो ।

‘हामीले सगुनको मोवाइल एप करिव तयार पारेका छौं, आन्तरिक रुपमा परीक्षण भइरहेको छ । परीक्षण सफल हुनासाथ सार्बजनिक गर्छौं,’ कम्पनीका संस्थापक गोविन्द गिरीले भने ।

सुरुमा यो एप एन्ड्रोइड प्लेटफर्ममा उपलब्ध हुने छ । केही समयपछि आइफोनको एप्पल स्टोरमा समेत उपलब्ध गराउने गरी काम गरिरहेको सगुनले जनाएको छ ।

यस एपमा डेस्कटपमा उपलब्ध नभएका सुविधासमेत केही हुने छन् । मोवाइल एप ल्याएपछि प्रयोगकर्ता निकै बढ्ने अपेक्षा सगुनले गरेको छ । मोवाइलमै सोसल नेटवर्किङ साइटको प्रयोग बढ्दै गएका बेला सगुनले मोवाइल एप ल्याउन लागेको हो ।

सगुनको एपमा सेक्रेट म्यासेज पठाउने, आफ्नो दैनिकी सेयर गर्ने, मुड टक, ओपन सेक्रेटलगायतका सुविधा हुने कम्पनीले दावी गरेको छ ।

मोवाइल एप सार्बजनिक गरेपछि सगुनले स्मार्ट कार्ड ल्याउने तयारी गरेको छ ।

‘हाम्रा पाइप लाइनमा धेरै प्रोजेक्ट छन्,’सगुनका संस्थापक गोविन्द गिरीले भने ।

सगुनले केही महिना अघि अमेरिकी बजारमा मिनीआइपीओ निस्कासन गरेको थियो । ग्लोबल सेयर मार्केटमा नेपाली नै स्थापना गरेको, नाममै नेपालीपन झल्कने, नेपालमा समेत कार्यालय भएको जस्ता कारणले विदेशमा बस्ने नेपाली निकै उत्साहित भएर सगुनको सेयर खरिद गरेका थिए ।

सगुनले पहिलो चरणमा गरेको शेयर निस्कासनमा करिव ३५ सय लगानीकर्ता सगुनको शेयर खरिद प्रक्रियामा सहभागी भएका थिए ।


क्लिकमान्डु