दशैंमा घर जाने टिकट लिनु भो ? ९० प्रतिशत बुकिङ भइसक्यो



काठमाडौं । दशैका लागि घर जाने तर्खरमा रहेका यात्रुहरुले हाल धमाधम टिकट बुकिङ गरिरहेका छन् ।

राष्ट्रिय यतायात व्यवसायी महासंघले दिएको जानकारी अनुसार पाँच दिनमा १५ लाख भन्दा बढी टिकट बुकिङ भइसकेको जनाएको छ । व्यवसायीका अनुसार ९० प्रतिशत टिकट बुकिङ भइसकेको जनाएको छ ।

‘अव केही टिकट मात्रै बाँकी छ, अधिकांस टिकट बुकिङ भइसकेको छ,’ महासंघका महासचिव सरोज सिटौलाले भने । नयाँ बस कुनै पनि व्यवसायीले यसवर्ष थप नगरेकोले टिकटहरु सिट क्षमता सिमित रहेको सिटौलाले जानकारी दिए ।

विगतका दशैमा अधिकाशं व्ववसायीले सुविधा सम्पन्न ठुला बसहरु संचालनमा ल्याउने गरेका थिए । कुनै कुनै व्यवसायीसँग बाहेक थप गाडी गन्तव्यमा लैजाने अवस्था नरहेको सिटौला बताउँछन् ।

राजधानी बाट सार्वजनकि सवारीमा मात्रै १७ लाख भन्दा बढी यात्रुहरु दशैका लागि राजधानीबाट बाहिरिने गरेको अनुमान रहेको छ । निजी सवारी तथा मोटरसाइकलमा गरी दशैमा राजधानीबाट २२ लाख भन्दा बढी बाहिरिने गरेका छन् ।

दशैमा विशेषगरी फुलपाती, अष्टमी र नवमीको दिनमा सवैभन्दा बढी बाहिरिने गरेका छन् । उक्त दिनका लामो तथा मध्यम दूरीका अधिकांस टिकट बुकिङ भइसकेको सिटौला बताउँछन् । २ नम्बर प्रदेशमा चुनावका कारण पनि तराई जाने सवारीहरु एक साता यता भरीभराउ हुदै आएका छन् ।

यातायात व्यवसायीले गत मंगलबार भदौ २८ देखि अग्रिम टिकट बुकिङ खुल्ला गरेका थिए । जसका कारण दशैमा घर जाने यात्रुहरु विहान २ बजे देखि बसपार्क टिकटको लागि लाइन बस्दै आएका छन् ।

धेरै टिकट बुकिङका लागि आउने यात्रुहरुले टिकट नपाएको समेत गुनासो ट्राफिक प्रहरीको सेवा कार्यालयमा गरेका छन् । टिकट खोलेसंगै नयाँ बसपार्क, कलंकी, गौशाला लगायत स्थानमा यात्रुहरु बिहानै देखि लाइन बस्दै आएका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग र राष्ट्रिय यातायात व्यवसायी महासंघबीच सहमतिपछी मंगलबारबाट बुकिङ खुल्ला गरिएको थियो ।

व्यवसायीले सार्वजनिक सवारीको भाडादर समायोजन र बसको क्यारियर (छत) राख्न पाउनुपर्ने माग पूरा नहुँदा सम्म अग्रिम टिकट बुकिङ खुल्ला नगर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले अडान लिदैं आएका थिए । सरकारले छत राख्न दिने सहमति जनाएपछि अग्रिम टिकट खोल्न व्यवसायी तयार भएका थिए ।


क्लिकमान्डु