एटिएम फ्रड र सुरक्षाको बारेमा सचेतना कार्यक्रम



काठमाडौं । नेपालमा पछिल्लो समय एटिएम फ्रडका घटना बढ्दै गएको सन्दर्भमा इन्फर्मेशन सेक्युरिटी रेस्पोन्स टिम नेपालको आयोजनामा यसको रोकथामबारे सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

शुक्रबार भक्तपुरको गठ्ठाघरस्थित स्वस्तिक कलेजमा आयोजित कार्यक्रममा प्रमु्ख वक्ताको रुपमा इन्टरनेट सोसाइटी नेपालका अध्यक्ष एवं सानिमा बैंकका ई-बैकिङ एवं आइएसओ हेड विक्रम श्रेष्ठले एटिएम फ्रडका विभिन्न आयामहरुको बारेमा जानकारी गराए ।

श्रेष्ठले एटिएम फ्रड कसरी हुन्छ र एटिएम सुरक्षा कसरी गर्न सकिन्छ भन्ने बारेमा जानकारीहरु प्रदान गरेका थिए ।

यसका साथै कार्यक्रममा एटिएम फ्रड के हो र कसरी हुन्छ ? नेपालमा कानूनी अवस्था कस्तो छ ? कस्ता सेक्युरिटी पूर्वाधारहरु अपनाइनुपर्छ ? प्रयोगकर्ता कसरी सचेत रहने ? आदि विषयमा वृहत् छलफल भएको थियो ।

पछिल्लो दशकमा नेपालमा एटीएमको प्रयोगकर्ता ह्वात्तै बढेको छ । नेपाल राष्ट्र बैंककाअनुसार बैंक तथा वित्तीय संस्थाले १ हजारभन्दा बढी एटीएम मेसिन सञ्चालनमा ल्याएका छन् । ४६ लाखभन्दा बढी डेबिट कार्ड, ५२ हजार भन्दा बढी क्रेडिट कार्ड तथा ८२ हजारभन्दा बढी प्रिपेड कार्ड जारी गरिसकेका छन् ।

कार्यक्रममा इन्फर्मेशन सेक्युरिटी रेस्पोन्स टिम नेपालका अध्यक्ष चिरन्जिवी अधिकारीले यस्तो सचेतना कार्यक्रम आगामी दिनमा पनि गर्ने भन्दै सूचना प्रविधिको सुरक्षामा ध्यान दिनुपर्ने बताए ।


क्लिकमान्डु