नेपाल एम्बुलेन्स सर्भिसको सेवा अब बुटवलमा



काठमाडौं । नेपाल एम्बुलेन्स सर्भिस (एनएएस)ले दक्ष स्वास्थ्यकर्मीहरु सहितको एम्बुलेन्स सेवा बुटवलमा सुरुवात गरेको छ । बुटवले सेवाको उद्घाटन नेपाल एम्बुलेन्स सर्भिसका उपाध्यक्ष तथा लायन्स डिष्ट्रिक्ट ३२५ बी२ का डिस्ट्रिक्ट गर्भनर रञ्जित आचार्य र अर्घाखाँची सिमेन्टका प्रबन्ध निर्देशक राजेश अग्रवालले संयुक्त रुपमा गरेका छन् ।

बुटवल र भैरहवामा संस्थाले २४ सै घण्टा पूर्ण उपकरण सहितको आकस्मिक एम्बुलेन्स सेवा लायन्स डिष्ट्रिक्ट ३२५ बी२ नेपालको सहकार्यमा प्रदान गर्ने छ । यो सेवाका लागि स्थानिय सहकार्य तथा वित्तिय सहयोग सोरवे फाउण्डेसन र अर्घाखाँची सिमेन्टले गरेको छ । यो सेवा लिनका लागि बुटवल, भैरहवा तथा वरिपरिका सेवाग्राहीले आकस्मिक एम्बुलेन्स सेवाको १०२ नम्बरमा फोन गर्नुपर्नेछ ।

हालसम्म एनएएसले काठमाडौं उपत्यका, चितवन र पोखरा सहित वरिपरिको क्षेत्रमा एम्बुलेन्स सेवा प्रदान गरिरहेको छ । । यसका साथै एनएएसले काठमाडौं उपत्यका, चितवन र पोखरामा अन्तराष्ट्रिय स्तरको आकस्मिक स्वास्थ्य सेवापूर्ण उपकरणयुक्त ११ वटा एम्बुलेन्सद्धारा प्रदान गर्दै आएको छ ।

एनएएसले २४ सै घण्टा आकस्मिक एम्बुलेन्स सेवा यी सबै क्षेत्रहरुमा संचालन गरिरहेको छ । आकस्मिक एम्बुलेन्स सेवा दिनका लागि निशुल्क फोन गर्न सकिने टोल फ्री नम्बर १०२ मा फोन गर्नुपर्नेछ । संस्थाले सरकारले तोकेको न्यूनतम शुल्कमा आकस्मिक एम्बुलेन्स सेवा प्रदान गरिरहेको छ ।


पुष्प दुलाल