बढ्न थाल्यो बैंकमा सीइओ फेरिने चहलपहल, को कहाँ गए ?



काठमाडौं । केही दिनअघि मात्रै २ वटा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) ले पदबाट राजिनामा दिए ।

कार्यकाल २ वर्ष बाँकी रहँदै ग्लोबल आइएमइ बैंकका सीइओ अनिल ज्ञवालीले राजिनामा दिए । त्यस्तै, सेञ्चुरी बैंकका सीइओ अनुजमणि तिमल्सिनाले पनि राजिनामा दिए ।

यी दुई बैंकका सञ्चालहरु अहिले सीइओ खोजिरहेका छन् । सेञ्चुरीका सञ्चालकले सिभिल बैंक छाडेका किशोर महर्जनलाई सीइओ बनिदिन प्रस्ताबसमेत गरेका छन् । महर्जनले साउनदेखि मात्रै सिभिल छाडेका थिए ।

तिमल्सिना भने बिरामी भएका कारण तत्कालै अर्को बैंकमा काम गर्ने पक्षमा छैनन् ।

भदौ ४ गतेदेखि लागू हुनेगरी बैंक अफ काठमाण्डूको सीईओमा शोहनदेव पन्त नियुक्त भएका छन् । उनी पहिले लुम्बीनी बैंकका सीइओ थिए । लुम्बीनी र बैंक अफ काठमाडौं मर्ज भएपछि उनी खाली थिए । बैंक छोडेको १ वर्षपछि पन्त बीओके मै सीइओ बनेर फर्किएका हुन् ।

सिभिल बैंकबाट किशोर महर्जर बाहिरिएपछि सेकेन्ड म्यान गोविन्द गुरुङ साउन १२ गतेदेखि सीइओ भएका छन् ।

२ वर्षयता बैंकमा एक/दुई बाहेक सीइओ हेरफेर भएको थिएन । तर, केही महिनायता भने उल्लेख्यमात्रामा सीइओको हेरिफेर भइरहेको छ ।

केहीदिन अघिमात्रै महालक्ष्मी विकास बैंकका सीइओ रमेशकुमार भट्टराईले राजिनामा दिए । उनले कात्तिक १ गतेदेखि लागू हुनेगरी राजिनामा बुझाएका हुन् ।

सिद्धार्थ बैंकले सेकेन्डम्यनका रुपमा कार्यरत शम्भुनाथ गौतमलाई महिनादिन अघि सीइओ नियुक्ती गरेको थियो । गत जेठमा तत्कालीन सीइओ सुरेन्द्र भण्डारीले कार्यकाल सकिन दुई वर्ष बाँकी रहँदै राजिनामा दिएका थिए ।

सिद्धार्थ बैंक छाडेका भण्डारीले गत जेठ १९ गते कुमारी बैंकको सीइओमा नियुक्ति लिए ।

जनता बैंकको सीइओमा पनि पर्शुराम कुँवर नियुक्ती भएका छन् । गत असारमा उनले सीइओको जिम्मेवारी लिएका हुन् ।

कैलाश विकास बैंकमा पनि सीइओ फेरिएका छन् । तत्कालीन सीइओ कृष्णराज लामिछानेले राजिनामा दिएपछि सो पदमा बैंक सञ्चालक समितिले गत जेठ १४ गतेदेखि लागू हुनेगरी अमृत चरण श्रेष्ठलाई नियुक्त गरेको थियो ।


पुष्प दुलाल