एप्पलले तीन नयाँ आइफोन ल्याउँदै, मूल्य १ हजार डलर माथी



काठमाडौं। एप्पलले बहुप्रतिक्षित आइफोन ८ मंगलवार आज सार्वजनिक गर्दैछ । कम्पनीले ल्याउने नयाँ आइफोनको बारेमा विभिन्न चर्चाहरु हुँदै आएका छन् ।

कम्पनीले आज तीन मोडलका आइफोनहरु सार्वजनिक गर्ने जानकारीहरु बाहिर आएका छन् । जसमा आइफोन ८, आइफोन ८ प्लस र आइफोन एक्स रहेको बताईएको छ ।

विभिन्न जानकारीहरुले आइफोनमा हुने नयाँ विशेषताहरुको बारेमा पनि उल्लेख गरेका छन् । जसमा आइफोन ८ र ८ प्लसमा एलईडी डिस्प्ले प्रयोग गरिनेछ भने आइफोन एक्समा बेजेललेस ओएलईडी डिस्प्ले राखिनेछ ।

एप्पलले आफ्नो १० औं वार्षिकोत्सवको अवसर पारेर विशेष फोनको रुपमा आइफोन एक्स ल्याउन लागेको हो ।

आइफोन ८ तथा आइफोन ८ प्लस भने यसअघि गत वर्ष सार्वजनिक भएको आइफोन ७ र ७ प्लसको अपग्रेडेड भर्सनको रुपमा आउँछ ।

यसको डिजाइन करीब करीब पुरानै हुनेछ । यसमा पछाडिको भागमा ग्लास राखिनेछ भने ए ११ चीप, र वायरलेस चार्जिंग सुविधा राखिनेछ ।

कम्पनीले ल्याउने विशेष आइफोन एक्समा भने नयाँ विशेषताहरु राखिएका छन् । यो फोन आइफोनको सबैभन्दा प्रिमियम फोनको रुपमा आउनेछ । यसमा ५.८ इन्चको ओएलईडी डिस्प्ले राखिनेछ । यसमा निकै कम बेजेल हुनेछ माथिल्लो भागमा फ्रन्ट क्यामरा, ईयरपिस र थ्रीडी सेन्सरको लागि छुट्याईएको छ ।

नयाँ आइफोनमा सबैभन्दा ठूलो परिवर्तन डिजाइनमा गर्न लागिएको छ । यसमा बेजेललेस ओएलईडी डिस्प्ले पहिलो पटक प्रयोग गरिँदैछ ।

यस्तो प्रकारको डिजाइन आइफोनमा आएमा यो अहिलेसम्मकै सबैभन्दा ठूलो परिवर्तन हुनेछ । यसअघि आइफोनमा बेजेललेस डिस्प्ले प्रयोग भएको थिएन् ।

रिपोर्टहरुका अनुसार आइफोनको मूल्य १,००० अमेरिकी डलर हुनसक्नेछ । यो अहिलेसम्मकै सबैभन्दा महंगो आइफोनको रुपमा आउने अनुमान गरिएको छ ।

एप्पलले यसका साथमा नयाँ आइवाच, एयरपड र फोरके एप्पल टिभी पनि घोषणा गर्ने अपेक्षा गरिएको छ ।

एजेन्सीको सहयोगमा


क्लिकमान्डु