उठ्यो उपत्यकाको फोहोर, शिसिडोलमै व्यवस्थापन गरिने



काठमाडौं । विगत एक सातादेखि उपत्यकामा थुप्रिएको फोहोर शनिबारदेखि उठाउन सुरु गरिएको छ । नुवाकोट जिल्लाको शिसिडोलबासीको अवरोधका कारण एक सातादेखि उपत्यकाको फोहोर उठ्न सकेको थिएन् ।

काठमाडौं, ललितपुर महानगरपालिका र शिसिडोलका स्थानीयबासीबीच ५ बुँदे सहमतिपछि उपत्यकाको फोहोर उठेको ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जनले जानकारी दिए ।

‘काठमाडौं, ललितपुर महानगरपालिका र शिसिडोलका स्थानीयबासीबीच ५ बुँदे सहमति भएको छ, स्थानीयबासीले फोहोर व्यवस्थापनमा अवरोध नगर्ने सहमति भएको छ,’ महर्जनले क्लिकमाण्डूसँग भने ।

स्थानीबासीसँग शिसिडोल ल्यान्डफिल साइटबाट प्रभावित क्षेत्रमा दुर्गन्ध नफैलिने गरी औषधि केमिकल नियमित हाल्ने, फोहोर विर्सजनपछि माटोले पुर्ने, प्रभावित क्षेत्रका स्थानीयबासी बिरामी परेमा काठमाडौंको अस्पतालसम्म पुर्याउन ४ महिनाभित्रमा नयाँ एम्बुलेन्सको व्यवस्था गर्ने, मुआब्जाको व्यवस्था मिलाउन अधिकार सम्पन्न समितिको यथासिघ्र गठन गर्ने र फोहोर व्यवस्थापनका लागि स्थानीयले सहजिकरणको भूमिका खेल्ने सहमति भएको महर्जनले जानकारी दिए ।

स्थानीयसँग सहमति भएसँगै शनिबारदेखि फोहोर उठाउन थालिसकिएको उनले बताए ।

‘शहरको मुख्य स्थान पुल्चोकदेखि ग्वार्कोसम्मको फोहोर उठाईसकिएको छ, सोमबारदेखि भित्रिचोक र घरबाट पनि फोहोर संकलन हुन्छ,’ उनले भने ।

उनका अनुसार मुआब्जा व्यवस्थापनका लागि प्रभाववित क्षेत्रका ५/५ जना वडाध्यक्ष र अन्य प्रतिनिधि, काठमाडौं, ललितपुर महानगरपालिकाको प्रतिनिधित्व हुनेगरि अधिकार सम्पन्न समिति गठन हुने छ ।

१० दिन पहिला पनि स्थानीयबासीको अवरोधका कारण उपत्यकाको फोहोर उठ्न सकेको थिएन । त्यस समय पनि काठमाडौं, ललितपुर महानगरपालिका र स्थानीयबासीको सहमतिपछि फोहोर उठेको थियो ।


क्लिकमान्डु