बस ब्यवसायीले फेरि निहूँ खोजे, भाडा नबढाएसम्म दशैंको टिकट बुकिङ नखुल्ने




काठमाडौं । यातायात व्यवसायीले भाडा बृद्धि नगरेसम्म दसैँको टिकट बुकिङ खुल्ला नगर्ने भएका छन् । विभाग र व्यवसायीबीच भदौ २२ गते बिहिबारदेखि सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ खुल्ला गर्ने सहमति भएको थियो ।

यातायात व्यवस्था विभाग र राष्ट्रिय यातायात व्यवसायी महासंघबीच भदौ २२ गतेबाट दसैँका लागि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने सहमति भएको थियो । तर सहमति विपरित व्यवसायीले भाडा बृद्धि र छत राख्न नपाएसम्म बुकिङ नखुलाउने जनाएका छन् ।

व्यवसायीले सार्वजनिक सवारीको भाडादर समायोजन र बसको क्यारियर (छत) राख्न पाउनुपर्ने माग पूरा नहुँदा सम्म अग्रिम टिकट बुकिङ खुल्ला नगर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ । महासंघले गत असारबाट भाडादर समायोजन गर्न यातायात व्यवस्था विभागलाई दबाब दिंदै आएको थियो ।

उक्त सहमतिसँगै विभागले भाडा समायोजन गर्ने सहमति पनि भएको महासंघले जनाएको छ । विभागले भाडा समायोजनको निर्णय नगर्दासम्म टिकट खुला नगरिने महासंघका अध्यक्ष डोलनाथ खनालले बताए ।

व्यवसायीहरुका मागहरूप्रति सरकार गम्भीर नभएको आरोप लगाउँदै अध्यक्ष खनालले भने, ‘चार वर्षदेखि भाडा समायोजन भएको छैन, हामीले असारदेखि भाडा समायोजन गर्न भनिरहेको छौँ ।’

विभागले भने भाडा समायोजनको काम भइरहेको तर तत्काल वृद्धि गर्न नसकिने जनाएको छ । यातायात ब्यवसायी महासंघका दुई वटा मागहरु छन्, जुन भाडा समायोजन र छत राख्न पाउनुपर्ने हो । यी दुवै मागउपर काम भइरहेको विभागले जनाएको छ । तर तोकिएको समयमा अग्रिम टिकट बुकिङ खुला नगरिए सम्बन्धित सवारीलाई कारबाही गरिने विभागका महानिर्देशक रुपनारायण भट्टराई बताए ।

उनले भने, ‘भाडा समायोजनको काम भइरहेको छ, क्यारियर राख्ने कामको लागि नियमावली नै संशोधन गर्नुपर्छ त्यसका लागि विभागले पहल गर्ने हो, संशोधन गर्न सक्दैन, अग्रिम टिकट बुकिङ खुला गरिनुपर्छ, नगरिए हामी कारबाही गर्छौं ।’


क्लिकमान्डु