जिरीका भूकम्पपीडीतले तेस्रो किस्ता पाएनन्
दोलखा । भूकम्प गएको दुई वर्षभन्दा बढी बितिसक्दा पनि सरकारी अनुदान लिएर एउटा पनि भूकम्पपीडितले जिरीमा स्थायी आवास निर्माण गर्न पाएका छैनन् ।
जिरी नगरपालिकामा पुनःनिर्माणको गति अत्यन्तै सुस्त देखिएको छ । दुई वर्ष तीन महिनाको अवधिमा एउटा पनि स्थायी आवास पुनःनिर्माण नहुँदा २०७५ असार मसान्तभित्र पुनःनिर्माणको काम सक्ने सरकारी योजना समेत अलपत्र पर्ने निश्चित देखिन्छ ।
अनुदान लिन ऋण लिए जस्तो प्रक्रिया पूरा गर्नुपर्ने, प्रक्रिया पूरा गर्नका लागि प्राविधिक बाधक बनेको जिरी नगरपालिकाका प्रमुख टंक जिरेलको दाबी छ । जिरेल भन्नुहुन्छ, ‘कहिले लम्बाइचौडाइ नमिलेको भनेर अड्काउने, कहिले भनेजस्तो भूकम्पीय सुरक्षा नअपनाएको भन्ने, कहिले ठूलो घर बन्यो भनेर सिफारिस नदिनेजस्ता कारणले गति लिन नसकेको हो ।’ पटकपटकका जनप्रतिनिधिको दबाबका कारण अहिले वडा÷वडाबाट पुनःनिर्माण अघि बढेको प्रमुख जिरेलले बताए ।
भूकम्पपीडित लाभग्राहीले भने स्थायी आवास पुनःनिर्माण पूरा गरेर तेस्रो किस्ता माग गरे पनि पाउन नसकेको जिरी नगरपालिका–३ का भक्त केसीले गुनासो गरे । केसीजस्ता सयाँै भूकम्पपीडितको यस्तै गुनासो रहेको छ । खासगरी प्राविधिक गाउँघरमा नभेटिने र भेटिए पनि मूल्यांकनमा ढिलासुस्ती हुने गरेका कारण सरकारी अनुदान लिन कठिन भएर पुनःनिर्माण कार्य प्रभावित भएको पीडित जनप्रतिनिधिसमेतले गुनासो गरेका छन् ।
यता भूकम्पीय आवास पुनःनिर्माण आयोजना जिल्ला आयोजना कार्यान्वयन इकाई दोलखाका प्रमुख एकराज अधिकारी भने–‘केन्द्रले खटाएका प्राविधिकलाई जिल्लाका नौ वटै स्थानीय निकायमा बाँडेको छौ , फिल्डमा रहेका कर्मचारीको व्यवस्थापन गरी गाउँमा काम लगाउने जिम्मेवारी स्थानीय जनप्रतिनिधिलाई दिएकाले पत्राचार समेत गरिसकेको छ ।’
काम प्राविधिकले गरेनन् भन्ने, अनि तलब खान हाजिर प्रमाणित गरेर पठाउने जनप्रतिनिधिको गतिविधि आफैँमा पनि विरोधाभासपूर्ण रहेको प्रमुख अधिकारीले बताए । तीन हजारभन्दा बढी भूकम्पपीडितले पहिलो किस्ता लगिसकेकामा करिब तीन सयले मात्रै दोस्रो किस्ताको रकम लगेको जिल्ला आयोजना कार्यान्वयन इकाइ दोलखाले जनाएको छ ।
भूकम्पीय आवास पुनःनिर्माण आयोजना जिल्ला आयोजना कार्यान्वयन इकाइ दोलखाकाअनुसार साविकको श्यामा गाविसमा ५७१ र जिरीमा तीन हजार ६१० गरी नगरपालिकाभित्र कूल चार हजार १८१ परिवार लाभग्राही सूचीमा सूचीकृत भएकामा हालसम्म एकजना पीडितले पनि तेस्रो किस्ताको रकम लिएका छैनन् । जिरी नगरपालिकाका कूल चार हजार १८१ भूकम्पपीडित लाभग्राही सूचीमा समावेश भएकामा चार हजार १५५ परिवारसँग अनुदान सम्झौता भइसकेको छ ।
सम्झौता भएकामध्ये तीन हजार ७८९ ले सरकारबाट र ३० परिवारले गैरसरकारी संस्थाबाट गरी कूल तीन हजार ८१९ परिवारले पहिलो किस्ताको रकम बुझिसकेको नगरपालिकाले जनाएको छ ।
त्यसैगरी ३६१ जनाले सरकारी र २१ जनाले गैरसरकारी संस्था गरी हालसम्म ३८२ परिवारले मात्रै दोस्रो किस्ताको अनुदान रकम बुझेका छन् । जिरी नगरपालिकाअन्तर्गत साविक श्यामा गाविसका कूल ५७१ लाभग्राहीमध्ये ५६० जनासँग अनुदान सम्झौता भएकामा ५४९ जनाले पहिलो किस्ताबराबरको २ करोड ७४ लाख ५० हजार र ८४ जनाले दोस्रो किस्ताबापतको १ करोड २६ लाख गरी कूल ४ करोड ५० हजार रकम लिएका छन् ।
साविक जिरी नगरपालिकाका कूल तीन हजार ६१० भूकम्पपीडित लाभग्राहीमध्ये तीन हजार ५९५ जनासँग अनुदान सम्झौता भएकोमा तीन हजार २७० जनाले पहिलो किस्ताबापतको १६ करोड ३५ लाख र २९८ जनाले दोस्रो किस्ताबापतको ४ करोड ४७ लाख गरी कूल २० करोड ८२ लाख रकम बुझेका छन् ।
जसमध्ये पहिलो किस्ता लिने ३० जना र दोस्रो किस्ता लिने २१ जनाले गैरसरकारी संस्थामार्फत अनुदान रकम लिएका हुन् । पीडितले भने सरकारी अनुदान प्रक्रिया निकै झन्झटिलो भएका कारण सरकारी अनुदान लिन नसकेको गुनासो गरेका छन् ।
पर्यटकीय नगरी जिरीमा भएको पुनःनिर्माणको सुस्तताले पर्यटन प्रवद्र्धनमा समेत असर गरेको छ । रासस