धितोपत्र बोर्डले पहिलो पटक सार्बजनिक गर्यो बार्षिक नीति तथा कार्यक्रम




काठमाडौं । धितोपत्र बोर्डले चालु आर्थिक बर्षको धितोपत्र सम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

बिहिबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी नीति तथा कार्यक्रम सार्बजनिक गरेको हो । यसअघि बोर्डका बार्षिक नीति तथा कार्यक्रम सार्बजनिक गर्ने परम्परा नभएपनि बोर्ड स्थापनाको रजत जयन्तीको अबसर पारेर यस्तो कार्यक्रम सार्बजनिक गरिएको बोर्डको भनाइ छ ।

धितोपत्र बजारलाई पँुजी परिचालनको प्रमुख संयन्त्रको रुपमा हेर्ने गरिएको हुन्छ । बोर्डका कार्यकारी निर्देशक निरज गिरीले गत आर्थिक बर्षको धितोपत्र बजारको समग्र स्थिति र बोर्डको कार्यप्रगतिको समीक्षा गरेका थिए । यस्तै उनले चालु आर्थिक बर्षमा धितोपत्र बजारको विकास तथा विस्तारका लागि बोर्डले लिएको नीति तथा कार्यक्रमको बारेमा जानकारी दिए ।

बोर्ड अध्यक्ष डा. रेवत बहादुर कार्कीले पहिलोपटक धितोपत्र सम्बन्धी नीति तथा कार्यक्रमलाई पुस्तिकामार्फत् सार्वजनिक गर्दै नियमन निकायको पारदर्शी तथा उत्तरदायी गतिविधिबाट धितोपत्र बजारमा सकारात्मक प्रभाव पर्ने बताए ।

धितोपत्र सम्बन्धी नीति तथा कार्यक्रमको कार्यान्वयनबाट धितोपत्र बजारमा पूर्वाधारको विकास हुने, बजारको पारदर्शीता बढ्ने, वास्तविक क्षेत्रको बजार प्रवेशमा बृद्धि आउने, लगानीकर्ताहरुलाई उपलब्ध लगानी उपकरणहरुको विकल्पहरुमा बृद्धि आउने बताए ।

यस्तै लगानीकर्ताको बजारमा विश्वास अभिबृद्धि हुने तथा धितोपत्रको दोस्रो बजार देशभर विस्तार भई समग्रमा प्राथमिक तथा दोस्रो बजारमा बढोत्तरी आउने र नेपालको धितोपत्र बजार दीर्घकालीन पुँजी परिचालनको महत्वपूर्ण संयन्त्रको रुपमा विकसित हुने अध्यक्ष डा. कार्कीको भनाइ छ ।

बोर्डका कार्यकारी निर्देशक परीष्टनाथ पौड्यालले यसरी पहिलो पटक सार्वजनिक गरिएको नीति तथा कार्यक्रमले बोर्डको गतिविधि थप पारदर्शी भई आफनो कार्यप्रति उत्तरदायी बनाउने बताए ।


क्लिकमान्डु