नारायणगढ-मुग्लिन सडक भासिएका कारण दिनभर यातायात अवरुद्ध हुने
चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको चार किलोमा सडक भासिएका कारण आज दिनभर यातायात अवरुद्ध हुने भएको छ ।
नारायणगढ-मुग्लिन सडक आयोजना प्रमुख चन्द्रनारायण यादवकाअनुसार करिब ५० मिटर लम्बाइ सडकको चार मिटर चौँडा भाग भासिएकाले सो ठाउँमा भित्तो काटेर यातायात सञ्चालन गर्नुपर्ने भएको छ । एकतर्फी सडक सञ्चालन गरेमा दिउँसो २ बजेसम्ममा काम सम्पन्न हुने भए पनि दुईतर्फी सञ्चालनका लागि साँझसम्म काम गर्नुपर्ने उनले बताए ।
सडक भासिएका ठाउँका सडक ९ मिटर मात्रै फराकिलो छ । यसअघि सडक फराकिलो बनाउन भित्तो काटिएको ठाउँमै सडक भासिएको हो ।
सवारी साधन सञ्चालन भएपछि काम गर्न नसकिने भएकाले भित्तो काटेर दुईतर्फी सडक सञ्चालन गर्ने तयारी भइरहेको छ ।
सो सडकको ५ ठाउँमा पहिरो खसेपछि आज बिहानबाट सडक अवरुद्ध भएको हो । जलबिरेको २ स्थानमा, कालिखोला, चारकिलो र पाँच किलोमा १÷१ स्थानमा पहिरो खसेको थियो । आयोजनाका इञ्जिनियर शिव खनालकाअनुसार जलबिरे बाहेक अन्यत्रको पहिरो भने पन्छाइसकिएको छ । केही समयमा जलबिरेको पहिरो पनि पन्छाइसकिने उनले बताए । खोलाबाट लेदो झरेकाले सो ठाउँमा सडक अवरुद्ध भएको हो ।
पहिरोको जोखिमका कारण साउन अन्तिम साताबाट रातको समयमा सवारी आवागमन रोकिँदै आएका थिए । पहिरो खसेपछि हिजो साँझबाट सडकमा रोकिएका सवारीसाधन अलपत्र परेका छन् । रासस