आर्थिक पत्रकारलाई चुनाबी चटारो, कस्ले मार्ला बाजी ?



काठमाडौं । यतिबेला आर्थिक पत्रकारहरु चुनाबी चटारोमा छन् । यही भदौ १६ गते हुने नेपाल आर्थिक पत्रकार समाज (सेजन)को साधारणसभाले नयाँ नेतृत्व चयन गर्दैछ ।

हरेक दुई-दुई वर्षमा हुने सेजन चुनाबमा दुई दर्जन बढी पत्रकारले उम्मेद्वारी घोषणा गरिसकेका छन् । उम्मेद्वारहरुले मिडिया हाउसमै गएर र व्यक्तिगत भेटघाटलाई तीब्र बनाएका छन् ।

प्रोफेसनल पत्रकारहरुको साझा संस्था भएकाले सरकार, निजी क्षेत्र तथा सरोकारवालाहरुमाझ सेजन निकै लोकप्रिय छ । त्यसैले सेजनको नेतृत्वमा जान आर्थिक पत्रकारहरु आकर्षित हुन्छन् ।

२०५४ सालमा प्रतीक प्रधान संस्थापक अध्यक्ष भएर स्थापना गरिएको सेजनप्रति दिनानुदिन लोकप्रियता बढ्दै छ । सेजनको साधारण सदस्य बन्न ५ वर्ष सक्रिय आर्थिक पत्रकारिता गरेको र स्नातक उत्तिर्ण गरेको हुनुपर्ने व्यवस्था छ ।

सेजनमा जम्मा २ सय ५४ जना सदस्य छन् । जसमध्ये २ सय ४६ जनाले सदस्ययता नविकरण गरिसकेको सेजनका अध्यक्ष गोकर्ण अवस्थीले जानकारी दिए । केही सदस्यहरु देशबाहिर रहेकाले उनीहरुको सदस्यता नविकरण भएको छैन । सेजनको साधारण सदस्य बन्न ५ वर्ष सक्रिय आर्थिक पत्रकारिता गरेको र स्नातक उत्तिर्ण गरेको हुनुपर्ने व्यवस्था छ ।

‘सेजन भनेको आर्थिक पत्रकारहरुको क्षमता विस्तार गर्न काम गर्ने संस्था हो, त्यसैले यो संस्थाप्रति लोकप्रियता बढेको हो,’ अध्यक्ष अवस्थीले क्लिकमाण्डूसँग भने, ‘सेजनले थिंक ट्यांकको रुपमा काम गरेर मुलुकको अर्थतन्त्रमा याेगदान दिँदै अाएकाे छ ।’

२०५४ सालमा प्रतीक प्रधान संस्थापक अध्यक्ष भएर स्थापना गरिएको सेजनप्रति दिनानुदिन लोकप्रियता बढ्दै छ ।

भदौ १६ गते बिहान अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सेजनको १८औं साधरणसभाको उदघाटन गर्ने अवस्थीले बताए ।

को को छन् उम्मेद्वार ?

अध्यक्ष पदका लागि अहिलेको कार्यकालका उपाध्यक्ष पुष्पराज आचार्य र महासचिव मोदनाथ ढकाल प्रतिस्पर्धी छन् । उनीहरु दुबै अंग्रेजी मिडियामा काम गर्छन् । आचार्य दि हिमालयन टाइम्स र ढकाल दि राइजिङ नेपालमा कार्यरत छन् ।

त्यसैगरी, उपाध्यक्ष पदका लागि आर्थिक न्यूज पोर्टल बिजमाण्डू डट कमका प्रभात भट्टराई र बिजखबर डट कमका रामराजा श्रेष्ठ प्रतिस्पर्धी छन् । श्रेष्ठ अहिलेको कार्यकालका सचिबसमेत हुन् ।

महासचिवमा भने ३ जना प्रत्यासी देखिएका छन् । कारोबार दैनिकका भीम गौतम, क्लिकमाण्डू डटकमका अनुजराज ढुंगेल र नयाँ पत्रिका दैनिकका जनार्दन बरालले उम्मेद्वारी घोषणा गरेका छन् । महासचिबमा ३ प्रत्यासीमध्ये गौतम अहिलेको कार्यकालका कोषध्यक्ष हुन् ।

त्यसैगरी, सचिव पदमा अन्नपूर्ण पोष्टका नविन अर्याल र क्यापिटल म्यागजिनका सुजन ओलीले उम्मेद्वारी घोषणा गरेका छन् । ओली अहिलेको कार्यकालका सदस्य छन् ।

त्यस्तै, कोषाध्यक्षमा कारोबार दैनिककी सरस्वती ढकाल, थाहा खबर डटकमका भागवत भट्टराई र नयाँ पत्रिका दैनिकका सुदीपकुमार ढुंगानाले उम्मेद्वारी घोषणा गरेका छन् । जसमध्ये ढकाल र भट्टराई अहिलेको कार्यसमितिमा सदस्य छन् ।

त्यसैगरी, सदस्यहरुमा नेपाली पैसा डट कमकी एलिजा उप्रेति, रिपब्लिक दैनिकका सागर घिमिरे, मेरो लगानी डटकमका परमेश्वर अधिकारी, इमेज टीभीका हिमाल पौडेल, नयाँ पत्रिका दैनिकका कृष्ण रिजाल, कारोबार दैनिकका शिब बोहोरा, कान्तिपुर टिभीका सुमन पन्त, हिमालयन टाइम्सका लेखनाथ पोखरेलले उम्मेद्वारी घोषणा गरेका छन् ।

निर्वाचन किमिटीमा को छ ?

सेजन सचिवालयका अनुसार सुरेश आचार्य, बालकृष्ण बस्नेत र बाबुराम अर्यालको ती सदस्यीय निर्वाचन कमिटि छ ।


पुष्प दुलाल