बाढीले कमला सिँचाइ आयोजनामा तेह्र करोडको क्षति, २५ हजार हेक्टर जमिनमा सिँचाइ प्रभावित
सिरहा । हालै आएको बाढीपहिरोले कमला नहर सिँचाइ आयोजनामा करिब १३ करोड रुपैयाँ मूल्य बराबरको क्षति भएको छ ।
कमला नहर हर्दिनाथ सिँचाइ आयोजना डिभिजन कार्यालय, पोर्ताहाका कार्यालय प्रमुख गौतम ठाकुरका अनुसार कमला नहरको पूर्वी नहर प्रणाली सिरहातर्फ पाँच करोड रुपैयाँ र कमला नहर पश्चिमी नहर प्रणालीतर्फ सात करोड रुपैयाँ र हर्दिनाथ सिँचाइ प्रणालीतर्फ एक करोड रुपैयाँ मूल्य बराबरको संरचना बाढीपहिरोबाट पूर्णरुपमा क्षतिग्रस्त भएको बताइएको छ ।
सिरहाको १२ हजार ५०० हेक्टर जमिन र धनुषाको १२ हजार ५०० हेक्टर जमिन गरी कूल २५ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याइरहेको सो आयोजना बाढीबाट क्षतिग्रस्त हुँदा सिँचाइमा समस्या पुगेको प्रमुख ठाकुरले बताए ।
विसं २०१७ मा तत्कालीन सिँचाइमन्त्री गणेशमान सिंहले शिलान्यास गर्नुभएको कमला सिँचाइ आयोजना विगत तीन वर्षदेखि पूर्णरुपमा निर्माण भएपछि सिरहा र धनुषाको धान, गहुँ खेतीमा सिँचाइ सुविधा पु¥याउँदै आएको थियो ।
कमला नहर र हर्दिनाथ सिँचाइ आयोजनाको नहरको पुरानो तथा नयाँ संरचना भासेको बाँध तथा केनल पूर्णरुपमा क्षतिग्रस्त भएको नहरका ग्राभेलबाटो टुटफुट भएको र नहर संरचनामा बाढीले तोडफोड गरेकाले त्यसलाई पुनःनिर्माणमा ठूलो रकम खर्च हुने सो कार्यालयका इन्जिनियर अरुण यादवले बताए ।
साथै सो नहर क्षतिग्रस्त हुँदा सिरहा एवं धनुषाको धानखेतीसमेत बालुवा र माटोले पुरिएर नष्ट भएको जिल्ला कृषि विकास कार्यालय सिरहाले जनाएको छ ।
कमला नहरको निर्माणले विगत दुई वर्षदेखि कृषि उत्पादन वृद्धि हुनुका साथै कमला नदीलाई समेत नियत्रण गर्दै आएको शारसर गाउँका रतिस यादवले बताए । गत वर्ष २०७३÷०७४ मा कमला नहर सिँचाइका लागि १७ करोड रुपैयाँ र समृद्ध तराई कार्यक्रमतर्फ पाँच करोड रुपैयाँ खर्च गरी सो नहरको संरचनाका साथै सिँचाइका कार्य गरिएको सो कार्यालयले जनाएको छ ।