बाढी बाढी प्रभावित जिल्लाका एनसेल ग्राहकद्वारा १ करोड ६६ लाख बढि निःशुल्क एसएमएस आदानप्रदान



काठमाडौं । बाढीपहिरो प्रभावित क्षेत्रमा ग्राहकहरुलाई एनसेलले मंगलबारसम्म प्रदान गरेको निःशुल्क एसएमएस सेवा अन्तर्गत ग्राहकले १ करोड ६६ लाख भन्दा बढि एसएमएस आदानप्रदान गरेका छन् ।

कम्पनीले आइतबारबाट तीन दिनसम्म प्रति दिन प्रति ग्राहक ५० वटा निःशुल्क एसएमएस उपलब्ध गराएको थियो । नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले दिएको निर्देशनअनुसार एनसेलले बाढीपहिरो प्रभावित २३ जिल्लाका ग्राहकलाई निःशुल्क एसएमएस सेवा प्रदान गरेको जानकारी दिएको छ ।

यस बाहेक भ्वाइस तथा डेटा सेवालाई सहज बनाउन एनसेलले ब्यालेन्स ट्रान्सफर सेवा पनि निःशुल्क बनाएको थियो । साथै एनसेल सापटी सेवा अन्तर्गत प्राप्त हुने सापटी रकमलाई वृद्धि गरि विद्यमान सेवा शुल्कमै रु ६० सापटी प्रदान गरिएको थियो ।

यसैगरी कम्पनीले प्रभावित क्षेत्रका ग्राहकलाई लक्षित गरी आफ्ना प्रियजनसँग सम्पर्क गर्न सघाउनका लागि निःशुल्क आपतकालिन सम्पर्क नम्बर ९००८ पनि संचालनमा ल्याएको थियो ।

‘बाढीपहिरो प्रभावित क्षेत्रलाई लक्षित गरी प्रत्येक दिन प्रदान गरिएको निःशुल्क एसएमएस सेवा, थप सापटीको सुविधा, निःशुल्क ब्यालेन्स ट्रान्सफर सुविधा र आपतकालिन सम्पर्क नम्बरले सम्पर्कमा रहन र राहत तथा उद्धार कार्यमा सहज बनाएको प्रतिक्रिया पाएका छौं,’ एनसेलका कर्पोरेट सर्भिसेस् निर्देशक प्रणय आचार्यले भने ।

प्रभावित क्षेत्रमा पानीको सतह घट्दै गर्दा कम्पनीले थप टावरहरु संचालनमा ल्याएको जानकारी पनि उनले दिए ।

‘केहि स्थानमा विद्युत आपूर्ती नरहेको र डिजेल जेनेरेटर संचालन गर्दा जोखिम हुने देखिएको थियो । अहिले एनसेलका ९७ प्रतिशत बिटिएस टावर संचालनमा रहेका छन् र ग्राहकलाई सेवा प्रदान गरिरहेका छन्,’ आचार्यले भने ।

एनसेलले जल तथा मौसम विज्ञान विभागसँग सहकार्य गर्दै बाढीको जोखिम रहेका क्षेत्रमा आफ्ना ग्राहकलाई बाढी सम्बन्धि पूर्वसूचना अर्थात एसएमएस अलर्ट पनि प्रदान गर्दै आएको छ । यस अन्तर्गत कम्पनीले विगत एक सातामा (साउन २४ देखि साउन ३० सम्म) ६० लाख भन्दा बढि पूर्वसूचना पठाएको जनाएको छ ।


क्लिकमान्डु