नविल, इन्भेष्टमेन्ट र चार्टर्डमध्ये कुन बैंकको सेयर किन्दा बढी फाइदा ?




काठमाडौं । नबिल, नेपाल इन्भेष्टमेन्ट र स्ट्यान्डर्ड चार्टड बैंक नेपाललाई दौतरी बैंक भन्दा पनि हुन्छ । स्थापनाको समय, ब्यवसायको आकार, हैसियत पनि करिब उस्तै थियो, केही बर्ष अगाडिसम्म ।

यी तीन बैंक क्रमशः सन् १९८४, १९८६ र १९८७ मा खुलेका हुन् ।

त्यतिबेला अस्तित्वमा भएका सरकारी बैंकहरु नेपाल बैंक, बाणिज्य र कुषि बिकास बैंक राजनीतिक हस्तक्षेप र कमजोर आन्तरिक नियन्त्रण प्रणालीका कारण थला पर्दै गएका थिए । सन् १९९० को राजनीतिक परिर्वतनले खुल्ला बजार अर्थतन्त्रको बाटो खोलेपछि यी तीन वटै बैंकहरु नेपालको उत्कृष्ट मध्येमा परे । र, धेरै हजारपति लगानीकर्तालाई लखपति र लखपति लगानीकर्तालाई करोडपति बनाए, यी बैंकहरुले ।

फोब्र्समा सुचिकृत नेपालका एकमात्र अर्बपति बिनोद चौधरीलाई डलर अर्बपति बनाउनमा पनि यीनै तीन बैंक मध्येको नबिल बैंकको नै प्रमुख भूमिका छ ।

गत आर्थिक बर्षमा कस्तो प्रगति गरे ३ वटै बैंकले ?
नेपाली समाज र राजनीतिसँगै यी बैंकले पनि लामो यात्रा गरिसकेका छन् । चुक्ता पुँजी, निक्षेप संकलन र कर्जा परिचालनमा नेपाल इन्भेष्टमेन्ट बैंक नेपालकै सबैभन्दा ठूलो बैंक भइसकेको छ । ९ अर्ब २४ करोड रुपैंयाँ चुक्ता पुँजी भएको इन्भेष्टमेन्टले गत आर्थिक बर्ष १ खर्ब २५ अर्ब निक्षेप संकलन गरेको थियो भने १ खर्ब ६ अर्ब रुपैंयाँ कर्जा परिचालन गरेको थियो ।

खुद नाफामा भने इन्भेष्टमेन्ट तेस्रो नम्बरमा परेको छ । बैंकले गत बर्ष ३ अर्ब १६ करोड रुपैंयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो बर्षको भन्दा २४ प्रतिशतले बढि हो । ३४ रुपैंयाँ २० पैसा प्रतिसेयर आम्दानी भएको इन्भेष्टमेन्टको जगेडा कोषमा ११ अर्ब ७८ करोड रुपैंयाँ छ । एफपिओ जारी गर्दा आएको प्रिमियमको पैसा र एस डेभलपमेन्ट बैंकलाई प्राप्ती गर्दा स्वाप रेसियोबाट आएको पैसाबाट इन्भेष्टमेन्टले ठूलो रकम जगेडा कोषमा थुपार्न सकेको हो ।

नबिल बैंक भने खुद नाफाका आधारमा नेपालको सबैभन्दा ठूलो बैंक हुने भएको छ । केही बाणिज्य बैंकहरुको वित्तीय बिवरण आउनै बाँकी भए पनि उनीहरुले नबिललाई उछिन्ने संभावना देखिदैंन ।

नबिलले गत बर्ष ३ अर्ब ६२ करोड रुपैंयाँ खुद नाफा गरेको छ । यो अघिल्लो बर्षको भन्दा २८.४३ प्रतिशतले बढि हो । अघिल्लो बर्ष नबिलको खुद नाफा २ अर्ब ८१ करोड रुपैंयाँ थियो ।

६ अर्ब १८ करोड रुपैंयाँ चुक्ता पुँजी भएको नबिलले १ खर्ब १८ अर्ब रुपैंयाँ निक्षेप संकलन गरेको छ भने ९१ अर्ब ४९ करोड रुपैंयाँ कर्जा परिचालन गरेको छ ।

गत बर्षको खुद नाफाबाट ३० प्रतिशत बोनस सेयर दिएर राष्ट्र बैंकले तोकेबमोजिम ८ अर्ब रुपैंयाँ चुक्ता पुँजी पुर्याउने बैंकले लक्ष्य लिएको छ । बैंकले प्रतिसेयर आम्दानीलाई ५८ रुपैंयाँ ५४ पैसामा कायम राखेको छ ।

स्ट्यान्डर्ड चार्टर्डको गति भने माथि उल्लेखित दुई बैंकको भन्दा सुस्त देखिएको छ । प्रतिसेयर आम्दानीमा निकै घटेर अघिल्लो बर्षको ४५ रुपैंयाँबाट गत बर्ष ३४ रुपैंयाँमा झरेको छ ।

चार्टर्डले गत बर्ष १ अर्ब ३८ करोड रुपैंयाँ खुद नाफा गरेको छ । यो नाफा अघिल्लो बर्षको भन्दा ६.९२ प्रतिशतले मात्र बढि हो । अघिल्लो बर्ष चार्टर्डको खुद नाफा १ अर्ब २६ करोड रुपैयाँ थियो ।

चार्टर्डले ६३ अर्ब ८७ करोड रुपैंयाँ निक्षेप संकलन गरेको छ भने ३९ अर्ब २० करोड रुपैंयाँ कर्जा परिचालन गरेको छ । एफपिओ बिक्रीबाट आएको प्रिमियमले चार्टर्डको जगेडा कोष भने ७१.३६ प्रतिशतले बढेर ८ अर्ब १५ करोड रुपैंयाँ पुगेको छ । यही जगेडा कोष र गत आर्थिक बर्षको खुद नाफाबाट शतप्रतिशत बोनस सेयर बाँडेर राष्ट्र बैंकले तोकेबमोजिम ८ अर्ब रुपैंयाँ पुँजी पुर्याउने लक्ष्य बैंकले लिएको छ ।

कस्तो छ यी बैंकको बृद्धि ?
रिटेल बैंकिङको सन्दर्भमा चार्टर्ड भन्दा इन्भेष्टमेन्ट र नबिल अगाडी देखिएका छन् । नबिलको हाल ५२ र इन्भेष्टमेन्टको ६१ वटा शाखा कार्यालयहरु छन् । चार्टर्डको भने जम्मा १२ वटामात्र शाखा संजाल छन् । यद्यपि दुतावास, कुटनीतिक नियोग, अन्तराष्ट्रिय गैरसरकारी संस्था आदिको क्षेत्रमा भने चार्टर्डको पकड बलियो मानिन्छ ।

बैंकको बृद्धि नाप्ने धेरै सूचकहरु हुन्छन् । यहाँ खुद नाफाका आधारमा मात्र यी तीन बैंकको बृद्धि मापन गरिएको छ । वास्तवमा लाभांशसँग प्रत्यक्ष सम्बन्ध भएका कारण लगानीकर्ताका लागि सबैभन्दा महत्वपूर्ण सूचक भनेकै खुद नाफा न हो ।

बिगत ४ बर्षदेखिको खुद नाफा नियाल्ने हो भने चार्टर्डको बृद्धि अन्य दुई बैंकभन्दा निकै कमजोर देखिन्छ । आर्थिक बर्ष ०७०/०७१ देखि ०७३/७४ सम्मको अपरिष्कृत बित्तीय बिवरणसम्म आइपुग्दा चार्टर्डले क्रमशः १ अर्ब ३७ करोड, १ अर्ब २९ करोड, १ अर्ब २६ करोड हुँदैं १ अर्ब ३८ करोड रुपैंयाँ खुद नाफा गरेको छ । यसको मतलब चार्टडको खुद नाफा अहिले ४ बर्ष अघिकै स्थितिमा छ ।

इन्भेष्टमेन्ट बैंकले आर्थिक बर्ष ०७०/०७१ मा १ अर्ब ९५ करोड रुपैंयाँ खुद नाफा गरेको थियो । त्यसपछि क्रमशः १ अर्ब ९७ करोड, २ अर्ब ५५ करोड हुँदैं गत बर्ष (०७३/७४) ३ अर्ब १६ करोड रुपैंयाँ खुद नाफा गरेको छ ।

नबिल बैंकको पनि राम्रो बृद्धि छ, बिगत ४ बर्षमा । आर्थिक बर्ष ०७०/०७१ मा नबिलको खुद नाफा २ अर्ब ३३ करोड रुपैयाँ थियो । त्यसपछि नबिलले क्रमशः २ अर्ब १० करोड, २ अर्ब ८१ करोड हुँदैं गत बर्ष ३ अर्ब ६२ करोड खुद नाफा गरेको छ ।

समग्रमा भन्दा बिगत ४ आर्थिक बर्षमा खुद नाफाका आधारमा चार्टर्ड जहाँको त्यहीँ छ भने इन्भेष्टमेन्ट र नबिलले क्रमशः ६१.७० र ६४.३६ प्रतिशतले बृद्धि गरेका छन् ।

कुन बैंकमा लगानी गर्दा कति लाभांश पाइएला ?
नबिलले बिगत ४ बर्षदेखि ६५, ६५, ३६ र ४५ प्रतिशत कुल लाभांश (बोनस सेयर र नगद लाभांश दुवै जोडेर) बाँढेको छ । उता इन्भेष्टमेन्टले बिगत ४ बर्षमा ३५, ४०, ३४ र ४१ प्रतिशत कुल लाभांश बितरण गरेको छ । चार्टर्डले बिगत ४ बर्षमा ५०, ५१.५, ४४ र ३५ प्रतिशत कुल लाभांश बितरण गरेको छ ।

गत आर्थिक बर्षको लाभांशको कुरा गर्दा भने नबिलले ३० प्रतिशत बोनस सेयर र १० देखि १५ प्रतिशत नगद लाभांश गरेर ४५ प्रतिशतसम्म कुल लाभांश बाँढ्ने अनुमान गर्न सकिन्छ । ८ अर्ब पुँजी पुर्याउन नबिलले ३० प्रतिशत बोनस सेयर दिनुपर्ने नै हुन्छ ।

इन्भेष्टमेन्टको भने ८ अर्ब पुँजी पुगिसकेकोले यत्तिनै बोनस सेयर बितरण गर्ला भन्ने यकिन गर्न सकिंदैंन । यद्यपि निरन्तर आफ्नो ब्यवसाय बृद्धि गर्दै आएको ठूलो बैंक भएका कारण पुँजी पनि क्रमशः बढाउँदैं लैजाने नै देखिन्छ । इन्भेष्टमेन्टले बोनस सेयर र नगद लाभांश गरेर ४० प्रतिशत भन्दा माथि नै लाभांश बितरण गर्ने संभावना छ ।

उता चार्टर्डको भने ४ अर्ब रुपैंयाँ मात्र चुक्ता पुँजी भएका कारण एफपिओको प्रिमियम र गत बर्षको नाफाबाट शतप्रतिशत बोनस सेयर दिने आंकलन गर्न सकिन्छ ।

अब प्रतिसेयर आम्दानी तिर लागौं । गत आर्थिक बर्षको अपरिष्कृत बित्तीय बिवरण अनुसार इन्भेष्टमेन्ट, नबिल र चार्टर्डको प्रतिसेयर आम्दानी क्रमशः ३४, ५८ र ३४ रुपैंयाँ छ ।

इन्भेष्टमेन्ट र नबिलले क्रमिक रुपमा खुद नाफा पनि बढाउँदै लगेको र बढिमा ३० प्रतिशतसम्म मात्र बोनस सेयर बितरण गर्ने भएका कारण चालु आर्थिक बर्षमा पनि गत बर्षको प्रतिसेयर आम्दानीलाई कायम राख्न वा बढाउन सक्ने देखिन्छ । यसको मतलब चालु आर्थिक बर्षमा पनि यी दुई बैंकका लगानीकर्ताले गत बर्ष कै जति लाभांशको आशा गर्न सक्छन् ।

चार्टर्डलाई भने गत बर्षको प्रतिसेयर आम्दानीलाई कायम राख्न ठूलै चुनौती छ । चार्टर्डको खुद नाफा स्थीर छ । र, गत बर्षको नाफा र प्रिमियमबाट शतप्रतिशत बोनस सेयर बाँढेपछि बैंकको प्रतिसेयर आम्दानी गत बर्षको भन्दा आधा नै हुने देखिन्छ ।

अर्थात, चालु आर्थिक बर्षमा चार्टर्डको प्रतिसेयर आम्दानी २० रुपैंयाँ भन्दा पनि कम हुने देखिन्छ । यसको मतलब चार्टर्डका लागनीकर्ताले चालु आर्थिक बर्षबाट १५ प्रतिशत हाराहारी मात्र कुल लाभांशको अपेक्षा गर्न सक्छन् ।

कुन बैंकमा गरेको लगानी बढि सुरक्षित ?
इन्भेष्टमेन्ट, नबिल र चार्टर्डको अन्तिम सेयर कारोबार मूल्य क्रमशः ७६९, १७५० र २३२० रुपैंयाँ छ ।

बिगतका बर्षहरुमा इन्भेष्टमेन्टको पुँजी बढि भएका कारण नबिल र चार्टर्डको जस्तो सेयर मुल्य बढ्न सकेन । चार्टर्डको त अझ गत बर्षसम्म २ अर्ब रुपैयाँ हाराहारी मात्र पुँजी भएका कारण सेयर मूल्य अन्य दुई बैंकभन्दा उच्च नै रह्यो ।

तर, अहिले अवस्था फेरिएको छ । अब यी तीनै बैंकको पुँजीमा पहिले जस्तो धेरै अन्तर हुँदैंन । कम्तीमा ८ अर्ब रुपैंयाँ त हुने नै भयो ।

यस्तो अवस्थामा भने उत्तिनै पुँजी, कम नाफा र बढि सेयर मूल्यका कारण चार्टर्ड केही जोखिम पूर्ण देखिन्छ । यही दृष्टिकोणले सबैभन्दा सुरक्षित इन्भेष्टमेन्ट देखिन्छ । अर्थात, आधारभूत बिश्लेषणको दृष्टिकोणले हेर्दा अबका दिनमा या त इन्भेष्टमेन्टको सेयर मूल्य बढ्नु प¥यो वा चार्टर्डको घट्नु प¥यो । नबिल भने बिच तिरै पर्ने भयो ।

मूल्य आम्दानी अनुपातका आधारमा पनि सेयरको जोखिम मुल्याङ्कन गर्न सकिन्छ । गत आर्थिक बर्षको बित्तीय बिवरण अनुसार इन्भेष्टमेन्ट, नबिल र चार्टडको मूल्य आम्दानी अनुपात क्रमशः २१.५८, २५.७९ र ६६.५२ रुपैंयाँ छ ।

सामान्यतः २० भन्दा कम मुल्य आम्दानी अनुपात भएको सेयर आकर्षक, २० देखि ३० सम्म लगानीयोग्य र त्योभन्दा माथि जोखिमपूर्ण मानिन्छ ।

यो हिसाबले पनि इन्भेष्टमेन्ट र नबिलको तुलनामा चार्टर्ड केही जोखिम पूर्ण नै भन्नुपर्ने भयो ।


क्लिकमान्डु