ब्याज आम्दानी र राइटब्याकले नेपाल बैंकको नाफा इन्भेष्टमेन्टको भन्दा बढी



 

काठमाडौं । अघिल्लो वर्ष नउठेको ऋण उठाउँदा नेपाल बैंकले नाफामा नेपाल इन्भेष्टमेन्ट बैंकलाई जितेको छ ।

दुवै बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार नेपाल बैंकले गत आर्थिक वर्षमा ३ अर्ब २१ करोड रुपैयाँ खुद मुनाफा गरेको छ । यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकले ३ अर्ब १६ करोड रुपैयाँ खुद नाफा गरेको छ ।

चुक्ता पुँजीमा सबैभन्दा बढी भएको नेपाल इन्भेष्टमेन्ट बैंकले असार महिनामा एस डेभलपमेन्ट बैंकलाई गाभेको थियो । सरकारी निजी लगानीको देशकै पुरानो नेपाल बैंक पछिल्लो समय वित्तीय अवस्थामा सुधार हुँदै गएको छ ।

वित्तीय विवरण प्रकाशित गरेका बैंकमा नाफाको आधारले नेपाल बैंक दोस्रो र इन्भेष्टमेन्ट बैंक तेस्रो स्थानमा छन् । पहिलो स्थानमा नबिल बैंक रहेको छ ।

अपरिस्कृत वित्तीय विवरण अनुसार नेपाल बैंकको चुक्ता पुँजी ८ अर्ब रहेको नेपाल बैंकले नाफामा ११ प्रतिशत बृद्धि गरेको हो । अघिल्लो वर्ष नेपाल बैंकको नाफा २ अर्ब ८८ करोड रहेको थियो ।

नेपालका वाणिज्य बैंकमा सबैभन्दा बढी चुक्ता पुँजी ९ अर्ब २४ करोड रहेको इन्भेष्टमेन्ट बैंकले नाफा २३ प्रतिशत बढाएको हो । नेपाल इन्भेष्मटेन्ट बैंकको नाफा गत वर्ष २ अर्ब ५५ करोड रहेको थियो ।

वित्तीय विवरण अनुसार नेपाल बैंकले ब्याज आम्दानीबाट ५ अर्ब ८३ करोड कमाएको छ । अघिल्लो वर्ष नेपाल बैंकले ब्याज आम्दानीबाट ४ अर्ब ६० करोड कमाएको थियो । यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकले ४ अर्ब ७८ करोड कमाएको छ । अघिल्लो वर्ष ब्याज आम्दानीबाट ३ अर्ब ९२ करोड कमाएको थियो ।

अघिल्लो वर्ष नउठेको २५ करोड रुपैयाँ नेपाल बैंकले उठाएको छ । यो वर्ष ५२ करोड रुपैयाँ सम्भावित नोक्सानी व्यवस्थाको छुट्याएको छ । यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकले ९ करोड रुपैयाँ उठाएको छ भने नोक्सानी व्यवस्थाको लागि ४३ करोड छुट्याएको छ ।

नेपाल बैंकको असार मसान्तसम्ममा निक्षेप ९३ अर्ब ९४ करोड रहेको छ । अघिल्लो वर्ष उसको निक्षेप ८९ करोड ४१ लाख रहेको थियो ।

नेपाल इन्भेष्टमेन्ट बैंकको निक्षेप १ खर्ब २५ करोड रहेको छ । अघिल्लो वर्ष इन्भेष्टमेन्ट बैंकको निक्षेप १ खर्ब ८ अर्ब रहेको थियो ।

यस्तै कर्जा प्रवाह नेपाल बैंकले ७४ अर्ब ३७ करोड गरेको छ भने इन्भेष्टमेन्ट बैंकले १ खर्ब ६ अर्ब गरेको छ ।

नेपाल बैंकको बेसरेट ६.२९ प्रतिशत रहेको छ भने इन्भेष्टमेन्ट बैंकको ८.३६ प्रतिशत रहेको छ ।

नेपाल बैंकको प्रति सेयर आम्दानी ४० रुपैयाँ रहेको छ । यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकको ३४ रुपैयाँ रहेको छ ।


क्लिकमान्डु