पूर्वाञ्चलमा अबरुद्ध ल्याण्डलाइन फोन बनाउन काठमाडौंबाट गयो टोली, आजै रातीदेखि चल्ने



काठमाडौं । बाढीपहिरोका कारण पूर्वाञ्चलमा केहीदिन यतादेखि अबरुद्ध भएको ल्याण्डलाईन फोन आज (आइतबार) रातीदेखि सञ्चालनमा आउने भएको छ ।

गत शुक्रबारदेखि भएको भीषण वर्षाका कारण खासगरी पूर्वको इटहरीमा रहेको नेपाल टेलिकमको उपकरण पूर्णरुपमा डुबानमा परेका कारण पूर्वाञ्चलभर ल्याण्डलाइनसेवा समेत अवरुद्ध छ ।

‘काठमाडौंबाट नेपाल टेलिकमको प्राविधिक टोली पूर्वाञ्चलमा गइसकेको छ, प्रदेश नं. २ का रौतहट, गौर, गरुडामा टेलिफोन सञ्चालनमा आइसकेको छ,’ टेलिकमका सहप्रवक्ता शोहन अधिकारीले क्लिकमाण्डूसँग भने, ‘अहिले इटहरीमा बनाइरहेका छौं । इटहरी बन्ने बित्तिकै पूर्वाञ्चलका धरान, बिराटनगर, विर्तामोडलगायतका स्टेसनहरुले पनि आफ्नो क्षमताअनुसार काम गर्न थाल्छन् ।’

इटहरीमा टेलिकमले जलेका बिटिएसहरु बनाइसकेको भएपनि विद्युत आपूर्ति हुन नसक्दा छिटफुटरुपमा मोवाइल सेवाको पनि अबरुद्ध हुन पुगेको अधिकारीले बताए ।

‘बत्ति छैन, त्यसैले हाम्रा प्राविधिकहश्र मोवाइल जेनेरेटर लिएर गएका छन्, केही ठाउँमा चार्ज गरेर सेवा दिइरहेका छौं भने केही ठाउँमा अझैपनि चार्ज गर्न सकिएको छैन,’ उनलने भने ।


पुष्प दुलाल