काठमाडौं महानगरले मनोरञ्जन शीर्षकमा कर असुल गर्न सकेन



काठमाडौं । काठमाडौं महानगरपालिकाले गत आव २०७३÷७४ मा मनोरञ्जन करको शीर्षकमा एक रुपैयाँ पनि असुल गर्न सकेन ।

आर्थिक वर्ष २०७२/ ७३ मा ८ हजार रुपैयाँ असुल गर्न सके पनि गत आवमा भने एक रुपैयाँ पनि असुल गर्न नसकिएको हो । मनोरञ्जन व्यवसायीलाई कर तिर्नका लागि पटक पटक ताकेता गर्दा पनि कर तिर्न नआएको र सोहीअनुरुप कामपाले कारबाही गर्न नसकेकाले सो शीर्षकमा कर संकलन हुन नसकेको कामपा, राजस्व महाशाखा प्रमुख ध्रुव काफ्लेले बताए ।

कामपाले गत आवमा मनोरञ्जन क्षेत्रको कर असूली १७ लाख तथा सोभन्दा अघिल्लो आवमा २५ लाख लक्ष्य लिएको थियो । यस क्षेत्रमा नियमित रुपमा कर असुल हुने हो भने वार्षिक २५ लाख आम्दानी हुन सक्छ । मनोरञ्जनमा मात्र वार्षिक २५ लाख बक्यौता हुने गरेको छ ।

चालु आवदेखि कामपाले यस क्षेत्रको बक्यौता पनि असुल गर्ने लक्ष्यसहित कडाइका साथ काम गर्ने जनाएको छ । गत आवमा विज्ञापन करमा भने ७२ लाख ७३ हजार लक्ष्य लिएको कामपाले लक्ष्यभन्दा निकै बढी सात करोड आम्दानी गरेको थियो । रासस


क्लिकमान्डु