लघुवित्त कम्पनीकै नाफा आधा अर्बभन्दा बढी



काठमाडौं । लघुवित्तको नाफा अत्याधिक भएको भन्ने चर्चा बेलाबेलामा चल्ने गर्छ ।

नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचिकृत लघुवित्त कम्पनीको सेयर मुल्य अत्याधिक रहेको देखिन्छ ।

चुक्ता पुँजी अनुसार लघुवित्त कम्पनीको नाफा बढी हुने हुँदा यी कम्पनीको प्रति सेयर आम्दानीपनि बढी हुन्छ । सेयर बजारमा यी कम्पनीको सेयर संख्या कम हुँदा माग अत्याधिक हुँदा मुल्यपनि बढी हुने गर्छ ।

बिहीवार विभिन्न लघुवित्त कम्पनीले आफ्नो वित्तीय विवरण सार्वजनिक गरेका छन् । जसमा स्वावलम्बन बाहेक सबै संस्थाको नाफा बढेको छ ।
सबैभन्दा बढी नाफा कमाउनेमा छिमेक लघुवित्त विकास बैंक रहेको छ ।

छिमेक लघुवित्त विकास बैंकले ५७ करोड ६४ लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो वर्ष छिमेकको नाफा ४७ करोड २६ लाख रुपैयाँ थियो । छिमेकले केही वाणिज्य बैंकले गर्ने नाफा भन्दा बढी कमाएको छ ।
छिमेक लघुवित्तले ब्याज आम्दानीबाट १ अर्ब २४ करोड रुपैयाँ कमाएको छ । छिमेकको प्रति सेयर आम्दानी ६९ रुपैयाँ ११ पैसा रहेको छ ।

वित्तीय विवरण सार्वजनिक गरेको लघुवित्तमा कर्मचारी खर्चमा भएको बृद्धिको कारण स्वावलम्बन लघुवित्त संस्थाको नाफा घटेको छ ।

स्वावलम्बनले गत असार मसान्तमा २५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्ष ३२ करोड ३२ लाख रुपैयाँ नाफा कमाएको थियो ।

स्वावलम्बनको कर्मचारी खर्चमा भएको बृद्धिको कारण नाफा घटेको वित्तीय विवरणमा देखिन्छ । अघिल्लो वर्ष २८ करोड ३८ लाख रुपैयाँ कर्मचारी खर्च भएकोमा यो वर्ष ४२ करोड ४७ लाख रुपैयाँ खर्च भएको थियो ।

कर्मचारी खर्च अत्याधिक बढ्दा लघुवित्तको नाफा घटेको हो ।

लघुवित्तले ब्याज आम्दानीबाट ९३ करोड ५५ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष ब्याज आम्दानीबाट स्वावलम्बनले ८७ करोड ३५ लाख कमाएको थियो ।
४१ करोड ८९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको रहेको स्वावलम्बनको प्रति सेयर आम्दानी ५९ रुपैयाँ ७६ पैसा रहेको छ ।

यस्तै विहीवारनै अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको रुलर माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्ट(आरएमडिसी)को नाफा बढेको छ । होलसेल रुपमा माइक्रोफाइनान्सको काम गर्दै आएको आरएमडिसीको नाफा २१ करोड १३ लाख नाफा गरेको छ । अघिल्लो वर्ष आरएमडिसीको नाफा १७ करोड २९ लाख थियो ।
आरएडिसीको प्रति सेयर आम्दानी ३० रुपैयाँ ५४ पैसा छ ।

यस्तै नागबेली लघुवित्त संस्थाले आफ्नो नाफा बढाएको छ । ३ करोड ३७ लाख नाफा नागबेली गरेको छ । अघिल्लो वर्ष नागबेलीको नाफा २ करोड ७३ लाख थियो । यसको प्रति सेयर आम्दानी ६४ रुपैयाँ  रहेको छ ।

यस्तै विजय लघुवित्त संस्थाले ३ करोड १७ लाख कमाएको छ । चुक्ता पुँजी १६ करोड रहेको विजय लघुवित्तले पनि अघिल्लो वर्षभन्दा नाफा बढाएको छ । यसको प्रति सेयर आम्दानी १९ रुपैयाँ ६४ पैसा रहेको छ ।


क्लिकमान्डु