वार्षिक ६० लाख यात्रु धान्नसक्ने अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा किन ढिलाई हुँदैछ ?



निर्माणपछि यस्तो बन्ने छ । स्केच फोटो

काठमाडौं । राष्ट्रिय गौरवको आयोजना गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम दशैसम्ममा गति लिन नसके ठेक्का रद्द गर्ने चेतावानी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्र देवले दिएका छन् ।

निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सनलाई आगामी दशैसम्म पनि सन्तोषजनक काम नगरे ठेक्का सम्झौता रद्द गर्ने मन्त्री देवले व्यवस्थापिक संसद अन्र्तगतको सार्वजनिक लेखा समितिमा बुधबार जानकारी दिएका हुन ।

“सवै विवाद मिलेको अवस्थामा पनि काम नगर्ने हो, भने काम अगाडी बढेन भने ठेक्का सम्झौता रद्द गर्नुको विकल्प छैन,” मन्त्री देवले भने ।

सन् २०१८ को मार्च सम्ममा निर्माण सक्नुपर्नेगरी ठेक्का सम्झौता भएता पनि हालसम्म ३० प्रतिशत मात्रै काम सम्पन्न भएको छ । गत साता मात्रै चिनियाँ राजदूत लगायत ठेकदारहरुसंगको छलफलमा द्रुतगतिमा काम गर्ने प्रतिवद्धता जनाएकोले दुई महिनाको समय दिएको मन्त्री देवको भनाई छ ।

यस्तो थियो विवाद

विमानस्थल विस्तारमा निर्माण समाग्रि सप्लायर्सको जिम्मा पाएको कम्पनी नर्थवेष्ट डेभलपमेन्ट नेपाल इन्फ्रा प्रालिका कारण समस्या भएको चिनियाँ ठेकदारले अरोप लगाउँदै आएको थियो । उक्त कम्पनी नेकपा एमालेका नेता झलनाथ खनालका छोरा निर्भिक चित्रकार खनालको हो ।

दुईवर्ष अघि काम थाल्दा चिनियाँ कम्पनीका लागि निर्माण सामग्री सप्लाइ कसले गर्ने भनेर नेपाली ठेकेदारहरुबीच घम्साघम्सी चलेको थियो ।

आयोजनाका लागि कबुल गरे बमोजिमको निर्माण समाग्रि खनालको कम्पनीले उपलब्ध नगराएपछि ५ महिना देखि काम अवरुद्ध भएको थियो । निर्भिकको कम्पनीले आयोजनाको चिनियाँ ठेकेदार नर्थ वेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सनलाई निर्माण सामग्री सप्लाइको जिम्मा पाएको थियो ।

निर्माणपछि यस्तो बन्ने छ । स्केच फोटो

विमानस्थलमा निर्माण तथा विस्तारका लागि चाहिने गिट्टी बालुवा तथा अन्य सामाग्रीका लागि निर्भिक कम्पनीले पैसा लगेको तर सामान नल्याइदिएको गुनासो चिनियाँ ठेकेदारले गरेका थिए । मन्त्री देवसंग पनि ठेकदारले यस्तै गुनासो गरेका थिए । “कुनै पनि रकम बाँकी छैन भनेर स्वंयम राजदूतले भनेका छन्, अहिले समस्या समाधान भइसकेको छ,” मन्त्री देवले भने ।

दुईवर्ष अघि काम थाल्दा चिनियाँ कम्पनीका लागि निर्माण सामग्री सप्लाइ कसले गर्ने भनेर नेपाली ठेकेदारहरुबीच घम्साघम्सी चलेको थियो । त्यसबेला एमालेको केन्द्रिय नेतृत्वले हस्तक्षेप गरेपछि झलनाथका छोराको कम्पनी सप्लायर छानिएको थियो । तर, सप्लायरले सुरु देखिनै चित्तबुझ्दो काम नगरेको चिनियाँ ठेकेदारको गुनासो छ ।

यस्तो बन्दै छ विमानस्थल

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बैकल्पिक विमानस्थलको रुपमा हेरिएको गौतमबुद्ध विमानस्थल आगामी सन् २०१८ मार्च महिना देखि संचालनमा ल्याउने लक्ष्य रहेको छ । तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाले शिलन्यास गरेको उक्त विमानस्थलको काम हाल ३० प्रतिशत मात्रै सम्पन्न भएको छ ।

निर्माणपछि यस्तो बन्ने छ । स्केच फोटो

एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा यो विमानस्थल स्तारोन्ती गरी अन्तर्राष्ट्रिय स्तरको बनाउन लागिएको हो । यो विमानस्थल स्तारोन्ती गर्ने जिम्मा पाएको दक्षिण एसिया पर्यटन पूर्वाधार विकास आयोजनाले गरेको ग्लोवल टेण्डरमा चिनियाँ कम्पनी नर्थवेष्ट छनोट भएको थियो ।

भौतिक पूर्वाधारको निर्माण अन्तर्गत तीन हजार मिटरको धावनमार्ग, धाग्रा खोलाको डाइभर्सन, पार्किङ वे (एप्रोन), टर्मिनल भवनलगायतका संरचना बन्ने छ ।

विमानस्थलको पहिलो चरणमा एक हजार पाँचसय मिटर धावनमार्गलाई विस्तार गरेर तीन हजार मिटर बनाइनेछ । हाल धावनमार्गको काम ठेकदार कम्पनीले गरिरहेको छ । पहिलो चरणको कामपछि विमानस्थलको पाकिर्ङ वे (एप्रोन) समेत ६ वटा हुनेछ । पहिलो चरणमा धावनमार्ग र अरु भौतिक संरचनाहरु बन्नेछन् । त्यसपछि दोस्रो चरणको काम सुरु हुने प्राधिकरणको भनाई छ ।

प्राधिकरणले विमानस्थल स्तारोन्नती गर्न ८ अर्ब ५५ करोड रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरेको छ । पहिलो चरणको सिभिल वर्कको काम सकिएपछि इक्युपमेन्टका लागि पुनः ग्लोवल टेण्डर हुने छ । भौतिक पूर्वाधारको निर्माण अन्तर्गत तीन हजार मिटरको धावनमार्ग, धाग्रा खोलाको डाइभर्सन, पार्किङ वे (एप्रोन), टर्मिनल भवनलगायतका संरचना बन्ने छ ।

एप्रोन तथा धावनमार्ग लाइटसहितका काम पनि पहिलो चरणमा नै हुने भएको छ । यो विमानस्थलको सिभिल वर्कको काममा आन्तरिक टर्मिनल भवन, ६ मध्ये दुई वटा जहाजको लागि एप्रोन, कार्गोभवनसहितका पूर्वाधार भने नागरिक उड्डयन प्राधिकरणले निर्माण गर्ने छ ।

निर्माणपछि यस्तो बन्ने छ । स्केच फोटो

विमानस्थको स्तरोन्नति पश्चात काठमाडौं आउने अन्तर्राष्ट्रिय उडानका जहाज अवतरणको वैकल्पिक व्यस्वस्थाका रुपमा प्रयोग गर्न सकिने प्राधिकरणको भनाई छ । स्तरोन्नती पश्चात गौतमबुद्ध विमानस्थलमा एयरवसको ए ३४० र बोइङको ७७७ सम्मका ठूला जहाज अवतरण गराउन सकिन्छ ।

विमानस्थलको निर्माण कार्यपश्चात काठमाडौं स्थित एउटै मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा भएको जहाजको अधिक चापलाई नियन्त्रण गर्न सहयोग पुग्ने छ । यस विमानस्थलको स्तरोन्नतिसँगै सन् २०२० सम्ममा ६० लाख यात्रु धान्न सक्ने गरी गुरुयोजना निर्माण भएकोे छ ।


क्लिकमान्डु