पछि हटे विद्यासुन्दर, काठमाडौं महानगरले घरजग्गामा लिन थाल्यो पुरानै कर



काठमाडौं । काठमाडौं महानगरपालिकाले घरजग्गामा लगाउने भनेको नयाँ कर फिर्ता गरेको छ । महानगरले नयाँ कर फिर्ता गरेर आइतबारदेखि पुरानो कर उठाउन थालेएको हो ।

‘नयाँ करको दरमा गंभीर गल्ती भेटियो, जसले महानगरलाई करोडौं घाटा हुने भयो,’ महानगरका वडा नं. २६ का अध्यक्ष खेम तिवारीले क्लिकमाण्डूसँग भने, ‘त्यसैले आइतबार (हिँजो) देखि नयाँ कर नीतिबाट पछि हट्दै गत आर्थिक वर्षको करको दरअनुसार घरजग्गा कर उठाउन थालिएको छ ।’

वडाध्यक्ष तिवारीका अनुसार यसअघिको कर नीतिमा ६ लाख रुपैयाँ तिर्नुपर्ने करदाताले नयाँ कर नीतिअनुसार १७ हजार रुपैयाँमात्रै तिर्नुपर्ने अवस्था आएकाले पूरानै करको दर कार्यान्वयनमा ल्याइएको हो ।

तर, कर बढाउन खोजिए पनि नगर परिषदले पारित गरेको आर्थिक ऐनको किताबमा अंक राख्न नजान्दा कर घट्न पुग्यो । जसले मेयर विद्यासुन्दरलाई ब्याकफायर गरेको हो ।

‘मेयरसाबले कुनैपनि वडाध्यक्षसँग छलफल नगरी हतार हतार बजेट र करका दरहरु बनाउनु भयो, जुन कार्यान्वयनमा लैजाँदा गंभीर समस्या देखियो,’ उनले भने ।

महानगरका मेयर शाक्यले दुई साताअघि आर्थिक वर्ष २०७४/७५ का लागि निकै ठूलो आकारको अर्थात् झन्डै १३ अर्ब रुपैयाँको बजेट ल्याएका थिए ।

ठूलो आकारको बजेटका लागि स्रोत जुटाउन महानगरभित्र कर बढाउनु पर्थ्यो । र, उनले करको दर र दायरा दुबै बढाए पनि ।

तर, आर्थिक ऐनको किताबमा बढाउन खोज्दा प्रतिशतको हिसाब नमिलेपछि नयाँ करले मेयर विद्यासुन्दरलाई ब्याकफायर गरेको हो ।

तर, कर बढाउन खोजिए पनि नगर परिषदले पारित गरेको आर्थिक ऐनको किताबमा अंक राख्न नजान्दा कर घट्न पुग्यो । जसले मेयर विद्यासुन्दरलाई ब्याकफायर गरेको हो ।

किन पछि हट्यो महानगर ?

गत आर्थिक वर्षको कर नीतिअनुसार ३० लाख रुपैयाँसम्मको मुल्यांकन भएको घरजग्गाधनीले महानगरलाई एकमुष्ट ९०० रुपैयाँ तिर्नुपर्थ्यो । तर, महानगरले पारित गरेको नयाँ व्यवस्थाअनुसार यस्तो कर ५०० रुपैयाँ मात्रै तिर्नुपर्ने भयो ।

पुरानो व्यवस्थाअनुसार ३० लाख रुपैयाँभन्दा माथिको थप २० लाख रुपैयाँसम्म मूल्यांकनको घरजग्गाधनीले सो २० लाख रुपैयाँको ०.१५ अर्थात् थप ३ हजार रुपैयाँ तिर्नुपर्थ्र्यो ।

तर, नयाँ व्यवस्थाअनुसार यही मूल्य भएको घरजग्गाधनीले थप ०.०२५ प्रतिशत अर्थात् ५०० रुपैयाँ तिर्नुपर्ने भयो । यसो गर्दा महानगरभित्र ५० लाख रुपैयाँ मूल्यांकन भएको घरजग्गाधनीले पुरानो ब्यवस्थामा ३९ सय रुपैयाँ तिर्नपथ्र्यो भने नयाँ ब्यवस्थाले १००० रुपैयाँ मात्रै तिरे हुने गरिदियो । जुन महानगर चाहदैनथ्यो ।

स्रोतका अनुसार विद्यासुन्दर ०.१५ प्रतिशत रहेको सो दरलाई बढाएर ०.२५ बनाउन चाहन्थे । तर, हतारमा काम गर्दा हिसाब गर्न मिस्टेक भएकाले ०.२५ हुनुपर्नेमा ०.०२५ प्रतिशत हुन पुगेको महानगरका कर्मचारीहरु बताउँछन् । यो गल्तीले महानगरलाई ठूलो आर्थिक क्षति पुग्ने देखियो ।

त्यस्तै, ५० लाख रुपैयाँदेखि १ करोड रुपैयाँसम्म मुल्यांकन भएको घरजग्गाधनीले ५० लाख रुपैयाँको ०.२ प्रतिशत अर्थात् थप १० हजार रुपैयाँ कर तिर्नुपर्ने पुरानो व्यवस्था थियो । ५० लाख रुपैयाँसम्मको सम्पत्तिको ३९०० रुपैयाँ र थप ५० लाखको १० हजार रुपैयाँ गरी महानगरभित्र १ करोड रुपैयाँ मूल्यांकनको घरजग्गाधनीले १३ हजार ९०० रुपैयाँ पुरानै ब्यवस्थाले उठाउँथ्यो ।

तर सोही सम्पत्तिवालाले नयाँ व्यवस्थाअनुसार थप ५० लाख रुपैयाँको ०.०४ प्रतिशत अर्थात् २ हजार रुपैयाँ र ५० लाख रुपैयाँसम्मको १००० रुपैयाँ गरी १ करोड मूल्यांकनको घरजग्गाधनीले ३००० रुपैयाँ मात्रै कर तिर्दा हुने भयो । अर्थात पहिला १३ हजार ९०० रुपैयाँ कर तिर्ने करदाताले नयाँ ब्यवस्था अनुसार ३००० रुपैयाँ कर तिर्दा हुने भयो ।

त्यस्तै, १ करोड रुपैयाँभन्दा माथिको १ करोड रुपैयाँसम्म मुल्यांकन भएको घरजग्गाधनीले ०.३ प्रतिशत अर्थात् ३० हजार रुपैयाँ कर तिर्नुपर्थ्र्यो । नयाँ व्यवस्थाअनुसार सोही कर ०.१० अर्थात् १० हजार रुपैयाँमात्रै कर तिर्नुपर्ने भयो ।

पुरानो व्यवस्थाअनुसार २ करोड रुपैयाँभन्दा माथि मुल्यांकन भएको घरजग्गाधनीले मूल्यांकनको ०.४ प्रतिशत रुपैयाँ कर तिर्नुपर्थयो । अर्थात् थप २ करोड रुपैयाँको मात्रै सम्पत्ति भएपनि ८० हजार रुपैयाँ कर तिर्नुपर्थ्यो ।

तर, नयाँ व्यवस्थाअनुसार २ करोडभन्दा माथिको थप २ करोडसम्म ०.२५ अर्थात् ५० हजार रुपैयाँ तिर्नुपर्ने भयो ।

यस्तै ४ करोड रुपैयाँभन्दा माथिको २ करोड मूल्यांकन भएको सम्पत्तिमा नयाँ व्यवस्थाअनुसार ०.५० प्रतिशत अर्थात् थप १ लाख रुपैयाँ कर तिरेपुग्ने भयो ।

गत आर्थिक वर्षमा काठमाडौं महानगरले घरजग्गाबाट ५८ करोड रुपैयाँ कर उठाएको थियो भने यो बर्ष अर्बभन्दा बढी उठाउने लक्ष्य थियो । तर, करको नयाँ दर कार्यान्वयन गर्दा चालू आर्थिक वर्षमा जम्मा ५/६ करोड रुपैयाँ मात्रै उठ्ने अवस्था देखिएपछि विद्यासुन्दर दुई हप्तामै कर नीतिमा पछि हट्न बाध्य भएका हुन् ।


पुष्प दुलाल