सेयर बजारमा ५ अर्बको कारोबार



काठमाडौं । सेयर बजारमा यो साता ५ अर्ब ५३ करोड १८ लाख ६६ हजार बराबरको सेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जकाअनुसार कुल १७० कम्पनीको ९० लाख ५८ हजार ७० कित्ता शेयर कारोबार भएको छ ।

कारोबार रकम गत साताको भन्दा १६.७५ प्रतिशत बढी हो । गत साता १६५ कम्पनीको ८७ लाख ५३ हजार आठ सय ८० कित्ता शेयर ४ अर्ब अर्ब ७३ करोड ८२ लाख ७६ हजारमा कारोबार भएको थियो ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १०.९७ अंकले बढेर अन्तिम दिन एक हजार ६४६.५३ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा शुन्य दशमलव ७८ अंकले घटेर ३४६ दशमलव २३ अंकमा आइपुगेको छ ।

यस साता कारोबार रकमका आधारमा प्रभु इन्स्योरेन्स लिमिटेड अग्रस्थानमा रहेको छ । सो कम्पनीको २७ करोड ७८ लाख ५० हजार बराबरको सेयर कारोबार भएको थियो । यस्तै कारोबार भएको शेयर संख्याका आधारमा नेसनल हाइड्रो पावर कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ । सो कम्पनीको आठ लाख ६४ हजार कित्ता सेयर कारोबार भएको थियो ।

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो ।
यस्तै लक्ष्मी इक्विटी फण्ड, छ्याङदी हाइड्रो पावर, नेपाल बंगलादेश बैंक, नेरुडे लघुवित्त विकास बैंक, नेपाल बैंक, लक्ष्मी बैंक, सांग्रिला विकास बैंक, महाकाली विकास बैंक, भार्गव विकास बैंकको विभिन्न प्रकारका बोनस सेयर स्टकमा सूचीकृत भएका छन् ।


क्लिकमाण्डू