नेपाली सेनाको ‘गो ग्रिन अभियान’, १ हजार १०० बिरुवा रोपियो



पोखरा। नेपाली सेनाको ‘गो ग्रिन अभियान’ अन्तर्गत सिद्धिबक्स गण फूलबारीको आयोजनामा आज पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल परिसर र सेती दोभानमा एक हजार १०० बिरुवा रोपिएको छ ।

कार्यक्रममा पश्चिम पृतनापति उपरथि जगदीशचन्द्र पोखरेलले वातावरणलाई स्वच्छ र हराभरा बनाउन वृक्षारोपण अपरिहार्य भएको बताए। उनले बिरुवा रोप्नु मात्र ठूलो काम नभएको बताउँदै त्यसको संरक्षण गर्न सकेमा नै वृक्षारोपणले सार्थकता पाउने उल्लेख गरे ।

सहायक वन अधिकृत नवीन विश्वकर्माले एउटा स्वस्थ मानिसका लागि २४ घण्टामा १६ किलोग्राम अक्सिजन आवश्यक हुने बताउँदै वर्षेनी बढ्दो जनसंख्याको चापलाई दृष्टिगत गरी वृक्षारोपणलाई प्राथमिकता दिनुपर्ने बताए।

कार्यक्रममा सिद्धिबक्स गणका गणपति प्रमुख सेनानी मदन थापा क्षेत्री,  पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक अर्जुन आचार्य, डिन नरेन्द्र विक्रम गुरुङलगायतले वृक्षारोपणको महत्वबारे आआफ्ना धारणा राखेका थिए ।

सिद्धिबक्स गणका सेनानी सुरेन्द्र कार्कीका अनुसार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल परिसरमा १०० र सेती दोभानमा एक हजार संख्यामा अशोक, पारिजात, गुलमोहर, कपुर, निम, राजवृक्षलगायत विभिन्न जातका बिरुवा रोपिएको छ ।


क्लिकमान्डु